२९ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

चुनावी प्रचारमा प्रकाण्ड, एक अर्कामाथि खनिँदै एमाले र गठबन्धनका शीर्ष नेता

बैशाख २७, २०७९
चुनावी प्रचारमा प्रकाण्ड, एक अर्कामाथि खनिँदै एमाले र गठबन्धनका शीर्ष नेता

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ ।
०००० 
स्थानीय तह निर्वाचन आउन अब ३ दिनमात्रै बाँकी छ । निर्वाचन आयोगको आह्वान मंगलबार रातिदेखि मौन अवधि सुरु हुँदैन । निर्वाचन ऐन अन्तरगत मतदानको २४ घण्टाको समय मौन अवधि कायम हुने हुँदा सोहीअनुसार मंगलबार रातिदेखि मौन अवधि सुरु हुन लागेको हो । मौन अवधि सुरु हुनुअघि सत्ता गठबन्धन र अर्कातिर एमालेसहितका अन्य दलहरुले अन्तिम पटक चुनावी प्रचार गर्दैछन् । निरन्तर चुनावी अभियान तीव्र बनाएका दलहरुले आफ्ना आमसभा र कार्यक्रमहरुमा विपक्षीमाथि आरोपको वर्षा गर्ने विगतकै परम्परालाई निरन्तरता दिए । उनीहरुले जनतालाई आफ्नो चुनावी प्रतिबद्धता र योजना बताउनुको साटो विपक्षीलाई गाली गर्न मै धेरै समय खर्चिए । 
चुनावीसभाको क्रममा सोमबारपनि त्यस्तै दृश्य देखियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुमाथि गालीको वर्षा गरे भने गठबन्धनका नेताहरुले पनि त्यसैगरी एमालेमाथि आलोचना गरे ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनको दलालीमा लागेको आरोप लगाएका छन् । माओवादीको प्रचण्डपथ छोरी र भाइको नियुक्तिमा गएर पतन भएको उनले टिप्पणी गरे । 
कास्कीको पोखरामा सोमवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डको चर्को आलोचना गरेका हुन् । ‘छोरीलाई नजिताए राष्ट्रमा संकट आउने, जिताएमा प्रसन्न भएर गठबन्धनको दलालीमा लाग्ने रे १ देख्नुभयो के रहेछ राजनीति ? फेरि प्रचण्ड चिन्न बाँकी रह्यो ?,’ ओलीले भने, ‘माओवादीमा बिर्को मात्र छ, भाँडो एमालेमा आइसक्यो ।’
००००
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धन असार १७ पछि नजाने भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ मतदाता प्रभावित पार्ने कोसिस भएको आरोप लगाएका छन् । उनले ओलीको मनोवैज्ञानिक झटारो लक्ष्यमा नपुग्ने दाबी गरे ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले ओलीको मनोवैज्ञानिक क्षेप्यास्त्र लक्ष्यमा नपुग्ने बताएका हुन् ।
‘गठबन्धन असारभन्दा पर जाँदैन भनेर ओलीजीले मनोवैज्ञानिक प्रभाव दिन खोज्नु भएको हो, यो टिक्दैन गठबन्धनलाई किन भोट हाल्ने भनेर । उहाँको क्षेप्यास्त्र बीचमै पुग्दैन । उहाँ यस्तो गरिरहनुहुन्छ, मनोरञ्जन दिने काम गरिरहनु भएको छ,’ महतले भने, ‘ओलीको मनोवैज्ञानिक झटारो लक्ष्यमा पुग्दैन, उहाँको प्रवृत्तिविरुद्ध खडा भएको गठबन्धन भएकोले यो लामो समय चल्छ ।’ उनले काँग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पनि बताए । 
००००
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई चुनाव जिते केपी ओली स्थानीय तह भंग गरिदिने खतरा औंल्याएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा देउवाले पटक पटक संसद भंग गरेका ओलीले स्थानीय तह पनि भंग गर्न सक्ने दाबी गरे ।
‘ओलीले स्थानीय सरकारलाई पनि भंग गरिदिन्छन् । हिजो संसद भंग गर्नेले स्थानीय सरकारलाई पनि बाँकी राख्दैनन् ,’ देउवाले भने ।  
००००
ललितपुरमा आयोजित कार्यक्रममा ओलीले पनि देउवाले आफूलाई अलोकतान्त्रिक र तानाशाही भनेर भनेको भन्दै आक्रोश पोखे । हिजो आफ्नै कार्यकर्ताले रुखमा भोट हाल्न पाउँभन्दा पार्टीबाट निष्कासन गर्ने देउवा नै तानाशाही भएको टिप्पणी उनले गरे । उनले ५० वर्ष काम गरेका कार्यकर्तालाई शेरबहादुरले पार्टीबाट निष्कासन गरेको भन्दै काँग्रेसका कार्यकर्ता धेरै सहनशील भएको बताए ।
००००

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारलाई तोड्ने बताएका छन् । एमाले क्विन्टल नै भए पनि आलु र आफूहरू तोला नै भए पनि सुन भएको उनको टिप्पणी छ । 
सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले ओलीको अहंकारका कारण संविधान रक्षाका लागि दलहरूबीच गठबन्धन बनेको बताएका हुन् ।  
००००
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) तथा नेकपा एकीकृत समाजवादीले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित रहेको बताए । 
उनले भने, “देशमा आमूल परिवर्तनपछि नागरिकलाई विकास चाहिएको छ, विकास निर्माणका काम गर्नकै लागि हामीले गठबन्धन गरेका हौँ, हाम्रो गठबन्धन वर्षौंसम्म रहनेछ ।” अध्यक्ष दाहालले सुदूरपश्चिमसहित डोटीको विकास तथा स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्नेसमेत बताए । प्रचण्डले ओलीको प्रतिगमनलाई परास्त गरिनुपर्ने पनि बताए । 
))))
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले इमान हराएका, नैतिक हराएका मान्छेलाई मेरो पार्टी हो भनेर भोट नहाल्न मतदातालाई आग्रह गरेका छन् ।
राप्रपा भक्तपुरले चाँगुनारायणमा सोमवार आयोजना गरेको चुनावी सभामा उनले देशको विकास गर्नसक्ने, आफ्नो गाउँको विकास गर्नसक्ने नेता र दललाई रोजेर भोट हाल्न मतदातालाई आग्रह गरे ।
००००
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनावी प्रचारमा होमिएका छन् । उनी गृहजिल्ला कालीकोटमा चुनावी प्रचारप्रसारमा जुटेका हुन् । उनी सोमबार रास्कोटको चुनावी सभामा सहभागी भएर पार्टीको तर्फबाट स्वतन्त्र रुपमा प्रतिस्पर्धामा रहेका उम्मेदवारको पक्षमा माहोल बनाउन जुटेका हुन् । उनले सामाजिक सञ्जालमार्फत सभामा सहभागी भएको फोटो सार्वजनिक गर्दै स्वतन्त्र, जनपक्षीय र क्रान्तिकारी उम्मेदवारहरूलाई विजयी गराउन आह्वान गरेका छन् । 
चुनावमा पार्टीको सहभागिताको विषयलाई लिएर विप्लव नेतृत्वको पार्टी नै विभाजित बनेको थियो । नेता धर्मेन्द्र बास्तोला समूहले चुनावमा जाने विषयमा विप्लव समूहको लाइनप्रति असहमत हुँदै नेकपा (बहुमत) गठन गरिसकेको छ । जुन पार्टी सोमबारमात्रै घोषणा भएको हो । 
कपिलवस्तुमा केही पहिले बसेको केन्द्रीय समिति बैठकले पार्टी चुनावमा सहभागी नहुने तर स्वतन्त्ररुपमा उम्मेदवारी दिनेगरी निर्णय भएको थियो । तर, निर्णयविपरीत विप्लव समूह पार्टी नै दर्ता गर्ने तथा एमालेसँग मिल्ने नीतिका साथ अघि बढेपछि विवाद चर्किँदै गरेर विभाजनसम्मको अवस्था आएको थियो । 
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको चुनावमा बृहत् गठबन्धन निर्माण हुनुमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको ठूलो योगदान रहेको बताएका छन् ।
गृहनगर मेचीनगरको धुलाबारीमा सोमबार साँझ आयोजित चुनावी सभामा उनले भने, ‘अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बन्नुमा पुष्पकमल दाहाल प्रचण्डको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ ।’
००००
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपत्यकालाई शान्तिसुरक्षाका दृष्टिकोणमा मजबुद र बलियो सुरक्षा संयन्त्र बनाउने निर्णय गरिएको छ ।       
सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित तीनवटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीबीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा यस्तो निर्णय भएको हो ।
००००
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले मतदानका दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय  गरेको छ । 
निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।
००००
वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो हप्ताको तुलनामा चौथो हप्तामा वाणिज्य बैंकहरूको निक्षेप संकलन ५ अर्बले मात्रै बढेको हो ।
नेपाल बैंकर्स संघका अनुसार वैशाख चौथो हप्तामा वाणिज्य बैंकहरूको कूल निक्षेप ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । वैशाख १६ गतेसम्म ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा ५ अर्ब बढेर ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ ।
००००
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताएका छन् ।

धनगढीमा सोमवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री  देउवाले बागी उम्मेदवारकै कारण पराजित भएमा पार्टीले बागी उम्मेदवारलाई कारबाही गर्ने बताए ।
००००
आर्थिक संकटमा फसेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले पदबाट सोमवार राजीनामा दिएका छन् । 
विपक्षी दलहरूबाट लगातार दबाब आइरहेपछि राष्ट्रपति गोटाबाया राजपक्षेले दाइ महिन्दालाई राजीनामा दिन लगाएका हुन् । उनको आफ्नै दल पोदुजना पेरामुनामा राजीनामाको माग बढिरहेको थियो ।
०००
पछिल्लो २४ घन्टामा मुलुकभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार ३ हजार २ जनामा गरिएको नमुना परीक्षणका क्रममा ६ जनामा पीसीआरमार्फत र २ जनामा एन्टीजेनमार्फत कोरोना पुष्टि भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्