
कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८ हजार ५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन् ।
आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजंघा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी हुन् । उनले आफ्नो पोष्टमा लेखेकी छन्, ‘म केही दिन बिरामी परेकी थिएँ, त्यसैले आँटेको हिमाल चढ्न सक्दिनँ कि झैं लागेको थियो । तर, जम्मा २ दिनमै भव्य कञ्चनजंघाको सफल आरोहण गर्यौँ ।’
उनले आफ्नो सफलताका पछाडि बलियो टीमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन्, जसमा निर्मल पूर्जा 'निम्स दाइ'लगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गरेकी छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाइ लगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केही समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन्, जुन सफल हुन सकेको थिएन ।