
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर आएका छौँ ।
००००
शुक्रबार हुने निर्वाचनका लागि मौनअवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ ।
मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । साथै यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ । मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि बन्द हुने र यसको निगरानीका लागि आयोग आफैँ, सुरक्षा निकाय र मुलुकका विभिन्न मुख्य स्थानमा १८ सहसचिवको नेतृत्वमा टोली खटिएको उनले बताए ।
यसबाहेक निगरानीका लागि जिल्लामा मुख्य अधिकृतको नेतृत्वमा संयन्त्र र पालिकामा निर्वाचन अधिकृतको नेतृत्वमा संयन्त्र छ । मौन अवधि उल्लङ्घन गर्नेलाई आयोगले रु एक लाखसम्म जरिवाना तथा उम्मेदवारी रद्द गर्न सक्नेसम्मको सजायको निर्णय गर्न सक्ने अधिकार रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।
००००
मौनवअघि अघि दलहरुले चुनावी प्रचारप्रसार व्यापक बनाएका थिए । उनीहरुले आफ्नो पक्षमा माहोल बनाउन सम्पूर्ण शक्ति खर्चिँदै देशव्यापी अभियान सञ्चालन गरेका थिए । चुनावका लागि विभिन्न दलका नेताहरु आफ्नो मतदाता नामावली भएका स्थानमा पुगिसकेका छन् भने कोही पुग्ने क्रममा रहेका छन् ।
००००
स्थानीय तह निर्वाचनका लागि देशभर एक लाख ४५ हजार ११ जना उम्मेदवार रहेका छन् । त्यसमध्ये ३९० जना निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ८९ हजार ३१३ जना पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन् ।
स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरू गरेर ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । यस्तै वैशाख ३० गते हुने निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदान गर्दैछन् ।
निर्वाचन आयोगका अनुसार ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन् । १८३ जना अन्य मतदाता छन् ।
००००
मतदाता नामावलीमा विवरण छ भने मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने गरी निर्वाचन आयोगले सहजीकरण गरिदिएको छ । यसअघि आयोगले स्पष्ट निर्णय नगर्दा हराएकाले के गर्ने भन्नेमा द्विविधा हुँदै आएकोमा मंगलबारको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नागरिकताकै आधारमा मतदाता परिचय बन्ने भएकाले नागरिकताको आधारमा भोट हाल्न मिल्ने बताए ।
‘मतदाताको नामावलीको पूर्व सर्त भनेको नागरिकता प्राप्ति हो । सबै नागरिकले जो मतदाता छन् मतदान गर्न पाउने गरी निर्वाचनको व्यवस्था छ ’, उनले भने । ६ हजार ७ सय ४३ वडा भित्रका सबै नागरिकले मतदान यही अनुसार गर्न सक्ने उनले बताए ।
००००
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले यही वैशाख २८ र २९ गते कार्यालयको सेवा प्रभावित हुने जनाएको छ ।
‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै प्रशासन कार्यालयद्वारा मंगलबार जारी सूचनामा जनाइएको छ । यही वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ ।
००००
प्रेस काउन्सिल नेपालले मौन अवधिमा थप गम्भीर बन्न आम सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तामा अपिल गरेको छ । पटक–पटक आग्रह गर्दा पनि पत्रकारिताजगत् आचारसंहितातर्फ गम्भीर भएको नपाइएको भन्दै राति १२ बजेदेखि मौन अवधि लागू भएकाले यो अवधिमा थप गम्भीर बन्न काउन्सिलले सुझाएको हो ।
मौन अवधि झन् संवेदनशील हुने र यस अवधिमा सम्प्रेषित समाचार र समाचार–सामग्रीका कारण मतदाता प्रभावित हुन सक्ने अवस्था रहने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
००००
पछिल्लो समय लगातार घटिरहेको नेप्से परिसूचक मंगलवार भने ४४.१६ अंकले बढेर २३१३ बिन्दुमा पुगेको छ । २२ सय बिन्दुमा झरेको नेप्से पुनः बढ्न थाले पनि आजको कारोवार रकम भने जम्मा १ अर्ब ३५ करोड रुपैयाँको मात्रै छ । आज २२६ कम्पनीको ३३ लाख ३० हजार कित्ता शेयरको २६ हजार पटक कारोवार भएको छ ।
नेप्से बढेको दिन मंगलवार तीन वटा कम्पनी बरुण हाइड्रोपावर, न्यादी ग्रुप पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोवारमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको शेयर मूल्य आज १०–१० प्रतिशतले बढेको छ ।
००००
परीक्षणका लागि जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।
जेठ १ देखि हरेक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय भएको छ । त्यस्तै सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपराह्न साढे ५ बजेसम्म निर्धारण गर्ने, कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान साढे ९ देखि अपराह्न साढे ४ बजेसम्म रहने सूचनामा उल्लेख छ ।
००००
नेपाली सेनाले सगरमाथालगायत ४ वटा हिमालबाट १७ टन फोहोर संकलन गरेको छ । सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालबाट १७ हजार किलो फोहोर संकलन गरेको सेनाले जनाएको हो ।
सेनाका अनुसार सगरमाथा र ल्होत्सेबाट कुहिने ८९६ र नकुहिने ५ हजार ४६९ किलो गरी ६ हजार ३६५ किलो, कञ्चनजंघाबाट ६०९ कुहिने र ६ हजार ३ नकुहिने गरी ६ हजार ६१२ किलो र मनास्लुबाट ५५५ कुहिने र ३ हजार ४६८ किलो नकुहिने गरी ४ हजार २३ किलो फोहोर संकलन गरेको हो ।