काठमाडौं, ३१ असार– शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा व्यग्लै चहलपहल थियो । सभागृहमा विहानैदेखि काठमाडौं महानगरपालिकाका कर्मचारीहरुको चहलपहल देखिन्थ्यो । सबै कर्मचारी हतारमा जस्तो देखिन्थे । महानगरपालिकाका ३२ वटै वडाका अध्यक्ष र सदस्यहरु त्यहाँ भेला भएका थिए ।
दिउँसोको एक बजिसकेको थियो, त्यसपछि मात्रै त्यहाँ काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ पुगे । सबैजनाले अब त कार्यक्रम सुरु होला भनेर मेयर र उपमेयरतिर आशावादी नजर डुलाए ।
तर मेयर सा’प पनि कसैको पर्खाइमा थिए । उनी बेला बेला फोन हेर्थे र त्यही फोन कानमा लगाउँदै । आधा घण्टा जतिको पर्खाइपछि साइरन बजाउँदै आधा दर्जन गाडी सभागृहको गेटभित्र छिरे । सबैलाई पर्खाएका व्यक्ति थिए मेयर सा’वकै पार्टी नेकपा एमालेका अध्यक्ष केपी ओली । त्यसो त एमाले अध्यक्ष ओली नाताले मेयर शाक्यका भिनाजु पनि पर्छन् ।
ओलीको आगमन पछि औपचारिक कार्यक्रम सुरु भयो । स्वागत मन्तव्य, शुभकामना मन्तव्य, यस्तै यस्तै गरेर करिव पौने २ घण्टाको समय कट्यो । त्यसपछि मेयर सा’पको बोल्ने पालो आयो ।
बोल्न सुरु गर्दै उनले काठमाडौंमा स्मार्ट ट्वाइलेट बनाउनेदेखि मोनोरेल सञ्चालन गर्ने सम्मका सपना बाँडे । सभागृहको हलमा बसेर उनको भाषण सुनिरहेकाले काठमाडौं युरोपको कुनै विकसित सहरजस्तै बनिसकेको कल्पना गर्दै थिए सायद ।
मेयर सा’वको भाषण चल्दै गर्दा परेको पानीले काठमाडौंका धेरै सडक खोलाजस्तै बनिसकेका थिए । काठमाडौंको नेपालटार र सामाखुसीमा सढकमा हिँडिरहेका दुई बालिकालाई ढलले बगायो ।
सामाखुसीमा विद्यालयबाट फर्किएर सडकमा हिड्दै गरेकी एक बालिका ढलमा डुवेर यागव हुन्छिन् । ढलले हत्याएर एकछिनमै उनलाई पर पुर्याउँछ । त्यहाँ भएका अन्य व्यक्तिले उनलाई ढलबाट उतार्न सफल हुन्छन् ।
हेर्नुहोस्, काठमाडौंको सामाखुसीमा सडकमा हिँड्दै गरेकी बालिका एकाएक गायब भएको भिडियो:
तर नेपालटारमा भएको घटनाले भने एक अभिभावकले आफ्नो सन्तान गुमाएका छन् ।
नेपालटार क्षेत्रमा ढलका लागि भन्दै सडक खनेर छाडेको २ वर्ष भइसकेको छ । तर पनि त्यहाँको काम सकिएको छैन । सडकको बीच भागमै ठूला ठूला भ्वाङ छन् । पानी पर्दा पूरै सडक पोखरीजस्तो हुन्छ । सडकमा धमिलो पानी भरिएपछि भ्वाङ कहाँनेर छ भन्ने छुट्याउन सकिन्न ।
नेपालटारमा नास्ता पसल सञ्चालन गर्ने झंकनाथ फुयाँलको सपना पनि शुक्रबार त्यही भ्वाङमा डुवेर विलय भएको छ । उनकी १० वर्षीया छोरी बिनिता सडक छेउमा खेल्दै थिइन् । पानी परेपछि घरतिर आउन लाग्दा उनी भ्वाङमा परिन्, र सधैंका लागि यो संसारबाट विलय भइन् ।
बिनिता नेपालटारकै युरेका एकेडेमीमा कक्षा ३ मा पढ्थिन् । शुक्रबार स्कुलमा विदा थियो । त्यसैले उनी साथीसँग खेल्न निस्केकी थिइन् । तर आमाबुवालाई के थाहा कि खेल्न निस्केकी छोरीलाई ढलले बगाउला भन्ने ? झंकनाथका दुई सन्तानमध्ये छोरी बिनिता कान्छी हुन् ।
नेपालटारको सडकमा रहेका भ्वाङमा यसअघि पनि धेरै बच्चा डुबिसकेका छन् । यसअघि डुबेकाको उद्दार गरिए पनि बिनिताको भने शव मात्रै भेटियो, काठमाडौं महानगरपालिका–१६ चौमतीमा ।
नेपालटार तार्केश्वर नगरपालिका अन्तर्गत पर्छ । जसको मेयरमा एमालेका रामेश्वर बोहरा र उपमेयरमा पनि एमालेकै भवानी डोटेल धिताल विजयी भएका थिए । स्थानीय तह निर्वाचनका बेला घरदैलो अभियानका तार्केश्वरको घरदैलो अभियानमा एमालेका उच्च नेता नै सहभागी भएका थिए ।
उनीहरुले एमाले विजयी भए एक महिनामै सकरात्मक असर देखिने आश्वासन पनि बाँडेका थिए । तर त्यहाँका जनताको दुःखमा कुनै कमि आएको छैन ।
काठमाडौंका मेयर विद्यासुन्दर शाक्य पनि चुनावका बेला भोट माग्न सामाखुसी क्षेत्रमा पुगेका थिए । त्यहाँ उनले आफू विजयी भए सडक सुधारका लागि तत्कालै काम गर्ने आश्वासन बाँडेका थिए ।
शाक्यको घोषणापत्रमै १०० दिनभित्रै काठमाडौंका सबै सडकमा रहेका खाल्डाखुल्टी पुर्नेदेखि धुलो र हिलो नियन्त्रण गर्ने विषय समेटिएको छ । मेयर सा’वले त्यसको सुरुवात मात्रै गरेको भए पनि झंकनाथजस्ताले आफ््नो सन्तान गुमाउनुपर्ने अवस्था आउँदैनथियो होला सायद !