११ साउन २०८३, सोमबार
स्थानीय चुनाव

मध्याह्न नहुँदै दर्जन बढी ठाउँमा झडप र हवाई फायर, केहीमा अवरुद्ध, अधिकांशमा सुचारु

बैशाख ३०, २०७९
मध्याह्न नहुँदै दर्जन बढी ठाउँमा झडप र हवाई फायर, केहीमा अवरुद्ध, अधिकांशमा सुचारु

स्थानीय निर्वाचनका क्रममा उत्पन्न विवादका कारण ठाउँठाउँमा झडप हुँदा मतदान प्रभावित भएको छ ।

निर्वाचनको दिन मध्याह्न नहुँदै दोलखा, ओखलढुंगा, सर्लाही, रौतहटलगायतका ठाउँमा झडप हुँदा प्रहरीले हवाई फायर नै गरेको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार दोलखाको बैतेश्वर, सर्लाहीको धनकौल र हुम्लाको चंखेरीमा मतदान नै अवरुद्ध भएको छ ।

अन्य कतिपय स्थानमा केहीबेर प्रभावित भएको मतदान पुन: सुचारु भएको छ ।

देशभरका मुख्य तनावका घटनालाई नियालौं :

दोलखाको बैतेश्वर मतदानस्थल र मेलुङ गाउँपालिकाको ४ नम्बर मतदान स्थलमा झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी गंगाप्रसाद पौडेलका अनुसार मतदान स्थलमा ढुंगा प्रहार गर्दा १ जनाको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रहरीले बैतेश्वरमा ११ राउण्ड र  मैलुङमा दुई राउण्ड हवाई फायर गरेर अवस्था नियन्त्रणमा लिएको डीएसपी पौडेलले लोकान्तरलाई बताए ।

अहिले दुवै ठाउँको मतदान स्थगित भएको छ ।

***

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ स्थित मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ । 

बिहान मतदान स्थलमा लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएपछि प्रहरीले हवाई फायर खोल्नु परेको ओखलढुङ्गाका प्रहरी प्रमुख शुकदेव खनालले जानकारी दिए । 

मतदान स्थलमा ३ जना प्रहरी र ५ जना म्यादी प्रहरी सुरक्षामा खटिएका थिए ।

अहिले त्यहाँको अवस्थामा सामान्य भइसकेको र सर्वदलीय बैठक बसेपछि मतदान शुरू भएको प्रहरीले जनाएको छ ।

***

रौतहटको गढीमाई नगरपालिकामा दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । 

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार मतदानस्थल भन्दा बाहिर दुई पक्षबीच झडप भएको हो । 

'मतदान स्थलभन्दा बाहिर अलिअलि झडप भएको छ,' उनले लोकान्तरसँग भने, 'तर मतदान स्थलभित्र भने कुनै अवरोध भएको छैन, मतदान सुचारु नै छ ।'

***

रामेछापमा दुई पक्षबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ । 

रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको मतदान केन्द्र र खाँडादेवी गाउँपालिको वडा नम्बर १ मा झडप हुँदा ९ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।

प्रहरीले खाँणादेवीमा ७ राउण्ड गोली चलाएको छ भने सैलुङमा २ राउण्ड हवाई फायर गरेको छ ।

***

सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । 

उक्त गाउँपालिकाको वडा नम्बर २ स्थित एक मतदान केन्द्रमा झडपको स्थिति उत्पन्न भएपछि हवाई फायर गरिएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार मतदान स्थलमा उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडपको स्थिति उत्पन्न भएको थियो । 

'दुई पक्षबीच ढुंगा हानाहान भएर मतदानस्थल असुरक्षित हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको हो,' प्रमुख जिल्ला अधिकारी गौतमले लोकान्तरसँग भने, 'स्थिति नियन्त्रणमा आएको छ । मतदान पनि सुचारु गर्न पहल भइरहेको छ ।'

***

वृद्ध आफन्तको भोट कसले हालिदिने भन्ने विषयमा विवाद हुँदा काभ्रेको चौँरी देउराली गाउँपालिकामा तनाव सिर्जना भएको छ । 

जिल्ला प्रहरी कार्यालयका काभ्रे एसपी चक्रराज जोशीका अनुसार एक जना वृद्धका आफन्तले कसले भोट हालिदिने भन्ने विषयमा विवाद हुँदा झडप भएको हो ।

झडपपछि मतपेटिका बाहिर निकालेर फालिएका छन् । उनका अनुसार अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्