
गुल्मीको धुर्कोट गाउँपालिका-४ अध्यक्षका उम्मेदवारसहित कांग्रेसका तीन युवामाथि कुटपिट भएको छ ।
कुटपिटबाट वडाध्यक्षका उम्मेदवार ४६ वर्षीय गोपाल थापा, २६ वर्षीय निरन्जन कुँवर र ३५ वर्षीय सञ्जय नेपाली घाइते भएका छन् ।
शुक्रवार राति थापालाई आक्रमण गरेको आरोपमा धुर्कोट-६ का २५ वर्षका प्रदीप भण्डारी, २९ वर्षको प्रकाश पान्डेय, ३० वर्षको रामप्रसाद भण्डारी, २० वर्षको बिक्रम थापा, २४ वर्षको सन्तोष भण्डारी र गुल्मीदरवार ३ का २४ वर्षका अविनाश थापालाई प्रहरीले पक्राउ गरेर कानूनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
घाइतेहरूको बुटवलस्थित चौराह अस्पतालमा उपचार भइरहेको घाइतेसँगै रहेका विशालजंग कुँवरले बताए । थापाको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य युवाहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
नेपाली कांग्रेसका नेता तथा धुर्कोट गाउँपालिकाका उम्मेदवार महेन्द्र भण्डारीले अपराधमा संलग्न माओवादीका कार्यकर्तालाई कारबाही हुनुपर्ने माग गरे । घटनाका कारण धुर्कोटको मतगणना अझै हुन सकेको छैन ।
भण्डारीले अपराधमा संलग्नहरूको जिम्मा नलिएसम्म मतगणना नहुने बताए ।
नेकपा माओवादी केन्द्र धुर्कोटका अध्यक्ष कुपाल कुँवरले मतदान सकिएपछि भएको घटनासँग उम्मेदवार र पार्टीलाई बदनाम गर्न नहुने बताए ।