२३ जेठ २०८३, शनिबार
स्थानीय चुनाव

मतगणनाको प्रारम्भिक रुझान– ६ वटै महानगरमा एमाले पछि पर्‍यो, उपमहानगरमा समेत पछाडि

मतगणनाको प्रारम्भिक रुझान– ६ वटै महानगरमा एमाले पछि पर्‍यो, उपमहानगरमा समेत पछाडि

काठमाडौं महानगरसहित देशका ६ वटै महानगरमा भइरहेको मतगणनाको प्रारम्भिक रुझानमा एमाले पछि परेको छ ।

आइतवार बिहानसम्म गणना भइरहेका ६ वटै महानगरमा एमाले दोस्रो पोजिसनमा देखिएको छ ।

लाखभन्दा बढी भोट भएका महानगरमा भर्खर ५ हजारसम्म गणना भएकाले यो नतिजा प्रारम्भिक मात्र हो । 

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २ हजार ७१ भोट पाउँदा दोस्रो पोजिसनमा रहेका केशव स्थापितले १ हजार १ सय ६४ मत प्राप्त गरेका छन् ।

शुरूआती अग्रता लिएका बालेनले मतान्तर फराकिलो बनाउँदा स्थापित दोस्रो स्थानमा छन् । 

सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौंमा एमालेले फराकिलो अन्तरले जीत हासिल गरेको थियो । 

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ७ सय ६ भोट पाउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३ सय ३६ मत पाएका छन् । 

गत स्थानीय तह निर्वाचनमा भिडेका दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । २०७४ सालमा कांग्रेस उम्मेदवार महर्जन झिनो मतान्तरले विजयी भएका थिए । 

पोखरा महानगरमा गठबन्धनका साझा उम्मेदवार नेकपा एसका धनराज आचार्यले ६ सय १३ मत पाउँदा नेकपा एमालेका कृष्ण थापाले ५ सय ८३ मत पाएका छन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरामा एमालेले फराकिलो मतान्तरसहित मेयर र उपमेयर जितेको थियो । 

चितवनको भरतपुरमा माओवादीकी रेनु दाहालले १ हजार १ सय ७८ मत पाउँदा एमालेका विजय सुवेदीले १ हजार ६८ मत पाएका छन् ।

गठबन्धन दललाई तालमेलमा अप्ठ्यारो भएको भरतपुरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४ सय ११ मत पाएका छन् । 

पर्साको वीरगञ्जमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १ हजार ५ सय ७ मत प्राप्त गर्दा एमालेका विजय सरावगीले ६ सय ६८ मत प्राप्त गरेका छन् ।

यसअघि जसपाबाट मेयर जितेका सरावगी चुनावको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेका थिए । सरावगी आएसँगै वीरगञ्जमा जीत निकाल्ने एमालेको दाबी थियो ।

विराटनगरमा कांग्रेसका नागेश कोइरालाले २ हजार ५ सय ८३ मत प्राप्त गर्दा एमालेका सागरकुमार थापाले १ हजार ९ सय ९० मत प्राप्त गरेका छन् ।

कांग्रेसको गठ मानिएको र यसअघि पनि कांग्रेसले जितेको विराटनगरमा एमालेले यसपटक ‘चमत्कार’ गर्ने दाबी गरेको थियो । 

मतगणना भइरहेका १० उपमहानगरमध्ये ९ वटामा एमाले पछाडि परेको छ । अघिल्लोपटक कांग्रेसले जितेको कलैयामा मात्र एमालेले अग्रता कायम गरेको छ ।

देशभर पनि नेकपा एमाले दोस्रो पोजिसनमा देखिएको छ ।

आइतवार बिहानसम्म मतगणना जारी रहेका स्थानीय तहमध्ये नेपाली कांग्रेस २ सय ६६ स्थानमा अग्रता हासिल गर्दा नेकपा एमाले १ सय ७५ स्थानमा अगाडि छ । 

माओवादी केन्द्र १ सय ८ स्थानमा अगाडि देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्