३० जेठ २०८३, शनिबार
स्थानीय चुनाव

मधेशमा महन्थको बिजोग, २५ ठाउँ जितेको लोसपा ५ सिटमा खुम्चिँदै

मधेशमा महन्थको बिजोग, २५ ठाउँ जितेको लोसपा ५ सिटमा खुम्चिँदै
फाइल तस्वीर।

स्थानीय तह सदस्यको निर्वाचन मतपरिणामको प्रारम्भिक रुझान हेर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को ओरालो यात्रा शुरू भएको देखिएको छ । 

मधेशको राजनीतिमा छुट्टै शक्तिका रूपमा स्थापित महन्थ ठाकुर नेतृत्वको उक्त पार्टीको मधेशमा नै बिजोग भएको छ ।   

मधेश प्रदेशमा रहेको कुल १३६ स्थानीय तहमध्ये लोसपाले अहिले ५ पालिकामा मात्र अग्रता लिएको छ । 

महोत्तरीको मटिहानी नगरपालिका, भंगहा नगरपालिका, औरही नगरपालिका, बाराको परवानीपुर गाउँपालिका र सप्तरीको महादेवा गाउँपालिकामा मात्र अग्रता लिएको छ । यद्यपि केही पालिकामा वडाध्यक्ष र वडा सदस्यमा भने लोसपाले जित हात पार्न सफल पनि भएको छ। तर, अन्य पार्टीको तुलनामा लोसपाले जितेको स्थान भने निकै कम छ।

गत स्थानीय निर्वाचनमा जितेका कतिपय पालिकामा त लोसपाका उम्मेदवारको झन बिजोग भएको छ । मधेश प्रदेशकै राजधानी जनकपुरधाम उपमहानगरमा साविकको राजपाले प्रमुख तथा उपप्रमुख जितेको थियो । तर, अहिलेको निर्वाचनमा लोसपाबाट प्रमुखका उम्मेदवार मनोज चौधरी र उपमेयरका उम्मेदवार रीताकुमारी मिश्रको लज्जास्पद परिणाम आएको छ । 

साविकमा जितेको महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा पनि लोसपाले अगुवाइ गरेको छैन । उक्त नगरपालिका प्रमुखका  उम्मेदवार रामशंकर मिश्र पनि पछाडि देखिएका छन् । मनरा सिसवा नगरपालिकाको प्रमुखका उम्मेदवार सञ्जय सिंह पनि निकै पछि छन् । 

यी त केही उदाहरण मात्र हुन् । अवस्था कतिसम्म खस्किएको छ भने धनुषा, सिरहा, रौतहटलगायतका जिल्लामा एउटा पनि पालिकामा प्रतिस्पर्धामा समेत देखिएको छैन ।  

गत स्थानीय निर्वाचनमा साविकको राजपा (हालको लोसपा) नेपालले मधेश प्रदेशको २५ वटा स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको थियो । 

साविकको संघीय समाजवादी फोरम नेपाल (हालको जनता समाजवादी पार्टी नेपाल)ले २६ पालिकामा प्रमुख/अध्यक्ष जितेको थियो । 

राजपा र सपा मिलेर जनता समाजवादी पार्टी बनेको थियो । फेरि लोसपा विभाजन भएपछि ७ पालिकाका प्रमुख/अध्यक्षले जसपा नै रोजेका थिए । राजपामा १८ पालिकाका मात्र प्रमुख/अध्यक्ष थिए । 

महन्थ ठाकुर अध्यक्ष रहेको उक्त पार्टीमा राजेन्द्र महतो, शरतसिंह भण्डारी वरिष्ठ नेता छन् । 

अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनलजस्ता स्थापित नेताहरू पनि छन् । तर पनि मधेशमा उक्त पार्टीको अवस्था दयनीय बनेको छ । 

जसपा विभाजन भएपछि उक्त पार्टी झनै कमजोर बनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्