
कञ्चनपुरका ९ पालिकामध्ये स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एक/एक पालिकामा जित निकालेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यहाँको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित भएका छन् ।
प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मदनसेन बडायकलाई एक हजार ६५८ मतान्तरले पराजित गर्दै एमालेका राना निर्वाचित भएका हुन् । निर्वाचित रानाले चार हजार ५१६ मत ल्याएका थिए भने बडायकले दुई हजार ८५८ मत प्राप्त गरेका थिए ।
यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
त्यसै गरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै उम्मेदवार सपना चौधरी राना निर्वाचित भएकी छन् ।
बेल्डाँडी गाउँपालिकामा कांग्रेसबाट उम्मेदवार रहेका हरिचन्द्र राना अध्यक्ष पदमा निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसकै शान्तिनाथ निर्वाचित भइन् ।
बेलौरी नगरपालिकामा माओवादीका उम्मेदवार पोतिलाल चौधरी दोस्रो पटक नगरप्रमुख पदमा निर्वाचित भएका छन् ।