
महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी भएका छन् ।
प्रमुख पदमा विजयी साहले पाँच हजार ३४९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अशोककुमार मण्डलले तीन हजार ५८६ मत प्राप्त गरेको रामगोपालपुरका निर्वाचन अधिकृत जानकीरमण यादवले जानकारी दिए । त्यसैगरी उपप्रमुखमा निर्वाचित यादवले चार हजार २६३ मत प्राप्त गरेको र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्पादेवी कुशवाहाले तीन हजार ४०३ मत प्राप्त गरेको रामगोपालपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।