
सरकारले आगामी आर्थिक वर्षको बजेट सबै समुदाय र महिला वर्गले महसुस गर्ने गरी आउनुपर्ने सुझाव संसद सदस्य पुष्पा भुसालले दिएकी छन् । बजेटका सिद्धान्त र प्राथमिकतालाई अझै सुन्दर बनाउने गरी बजेट आउनुपर्ने पनि उनको भनाइ छ ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलवार संसदमा पेश गरेको विनियोजन विधेयक २०७९ का सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा भुसालले भनिन्, ‘आगामी आवको बजेट लक्षित वर्ग तथा समूदायलाई छुने र महसुस गर्नेगरी आउनुपर्छ ।’ आगामी बजेट लक्षित समूहलाई सम्बाेधन हुनेगरी ल्याउन अर्थमन्त्री प्रतिवद्ध हुनुपर्ने भुसालकाे भनाइ छ ।
बजेटबाट देशभित्रै उत्पादन बढाउने कामलाई प्रभावकारी बनाउनुपर्ने भुसालकाे भनाइ छ । ग्रामीण सडकको उपयोगिता र ऊर्जा क्षेत्रको विकासको लागि बजेटमा प्राथमिकता दिनुपर्ने उनले बताइन् । बजेटले देशलाई धनी बनाउने, मुलुकका विकास गर्ने र अर्थतन्त्र बलियो बनाउने बाटाे समाउनुपर्ने भुसालले बताइन् ।
संसद सदस्य हरिबोल गजुरेलले आगामी बजेट नेता वा पहुँचमुखी हुन नहुने बताए । उनले आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकतामा सरकारले भूमीसुधारको विषय समावेश नै नगरेको बताए ।