
भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा गहुँको मूल्य उच्च दरले बढेको छ ।
नेपाली किसान भने सस्तो मूल्यमा गहुँ बिक्री गर्न बाध्य छन् ।
सरकारले सही समयमा समर्थन मूल्य नतोक्ने र व्यापारीले किसानका उत्पादनको मूल्य आफूखुशी तोक्ने परिपाटीका कारण विश्व बजारमा मूल्य आकाशिँदा पनि नेपाली किसानले सस्तैमा बेच्नु परेको हो ।
भारतले गत शुक्रवारदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्व बजारमा गहुँको मूल्य उच्च दरमा बढेको छ । यस वर्ष अन्तरराष्ट्रिय बजारमा गहुँको मूल्य ६० प्रतिशतसम्मले बढेको बताइएको छ ।
भारतमा पनि २८ सय ८० रुपैयाँ क्वीन्टल पर्ने गहुँको पिठोको मूल्य बढेर अहिले करीब ३३ सय रुपैयाँ पुगेको व्यापारी बताउँछन् ।
विश्व बजारमा जति नै मूल्य बढे पनि नेपाली किसानले त्यसको लाभ पाउन सकेका छैनन् । सरकारले समर्थन मूल्य तोक्नुअघि नै तराईका कतिपय जिल्लाका किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा प्रतिक्वीन्टल ४ सय रुपैयाँ कममा गहुँ बेचिसकेका छन् ।
सरकारले निकै ढिलो गरेर गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १ सय ६५ रुपैयाँ तोकेको छ । किसानले यो मूल्यसमेत पाउन सकेका छैनन् । अहिले पनि सुनसरी, सिराहा, रौतहटलगायत जिल्लाका किसानले प्रतिक्वीन्टल २ हजार ८ सय रुपैयाँका दरले गहुँ बेचिरहेका छन् ।
‘यी जिल्लाबाट सरकारले गहुँ किन्दैन । हामीले व्यापारीलाई २ हजार ८ सय रुपैयाँमा बेचेको गहुँ आजभोलि व्यापारीले मैदा उद्योगीलाई ३ हजार ६ सय रुपैयाँ क्वीन्टलमा बेच्दै छन् । मैदा उद्योगीले सीधै हामीसँग गहुँ किन्दैनन्, जसले गर्दा हामी नाफा जति सबै बिचौलियाको हातमा पुगेको टुलुटुलु हेरेर बस्न बाध्य छौं,’ सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले भने ।
आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले खबर लेखेका छन् ।