२६ जेठ २०८३, मंगलबार

स्थानीय चुनाव :  एमालेको हैसियत खस्कियो, माओवादीलाई भने ‘बोनस’

जेठ ६, २०७९
स्थानीय चुनाव :  एमालेको हैसियत खस्कियो, माओवादीलाई भने ‘बोनस’

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको आउँदै गरेको मतपरिणामले दलहरूको स्थानीय तहको विगतको हैसियत नै अदलबदल गरिदिएको छ । २०७४ को स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले यसपटकको स्थानीय तहको निर्वाचनको हालसम्म प्राप्त मत परिणामअनुसार दोस्रो स्थानमा झर्ने देखिएको छ ।

यस्तै, यसअघि दोस्रो दलको हैसियतामा रहेको दल नेपाली कांग्रेस यसपटक एक स्थानमाथि उक्लिएर पहिलो दल बन्ने सुनिश्चित भइसकेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा प्रमुख-अध्यक्षमा जित निकालेर पहिलो दल बनेको थियो भने कांग्रेस २ सय ६६ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित निकाल्दै दोस्रो बनेको थियो । यसैगरी, नेकपा माओवादी केन्द्र त्यसबखत १ सय ६ स्थानमा प्रमुख/अध्यक्ष जित निकालेर तेस्रो हैसियतमा रहँदा संघीय समाजवादी फोरम र मधेसवादी दलका रूपमा रहेको जसपालगायतका दल त्यसपछिको हैसियतमा थिए ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले ३४ स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित हात पारेको थियो । त्यसबखत सो दल स्थानीय तहमा चौंथो बनेको थियो ।

यस्तै, तत्कालीन राजपा नेपालले २५ स्थानीय तहमा प्रमुख-अध्यक्षमा जित निकाल्दा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले पाँच स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित हात पारेको थियो । सो दल अहिले नेपाली कांग्रेससँग एकता गरिसकेको छ ।

यसपटकको निर्वाचनमा भने कांग्रेसले आफ्नो हैसियतमा सुधार गर्दा एमालेलाई धक्का पुगेको छ । कांग्रेस सत्ता गठबन्धनमा रहेर निर्वाचनमा होमिँदा विभाजनमा परेको एमालेलाई त्यसको असरले क्षति पुर्‍याएको छ भने गठबन्धनमै रहेको दल माओवादी केन्द्रले पुरानो हैसियतलाई सुधार गरी तेस्रो स्थानलाई सुरक्षित गर्दै अंक बोनस थपेको छ । यस्तै, मधेसवादी दलहरू यसबीचमा भएको टुटफुटले छिन्नभिन्न हुँदा त्यसको असर अहिलेको स्थानीय तहको परिणाममा देखिँदै गएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन सफल भएको बताए । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको भनेका हुन् । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्