
पछाडि कालो झोला । सोही झोलामा नेपालको राष्ट्रिय झण्डा ।
मिनरल वाटर राखेका । शिरमा रातो टोपी, आँखामा कालो चस्मा, गलामा रुद्राक्षको माला र खादा पहिरिएका । जब यी व्यक्ति उल्टो हिँडेको देख्थे, मानिसहरू झुम्मिन्थे ।
भिडियो खिच्थे, फोटो खिच्थे, खादा लगाइदिन्थे ।
बिहीवार दिउँसो उल्टो पैदल यात्री दाङका ३० वर्षीय ऋषि परियार पाल्पा सदरमुकाम तानसेनमा आउँदा देखिएको दृश्य हो यो ।
ऋषि ति व्यक्ति हुन् जसले केही साताअघि मात्रै ६२ दिन उल्टो हिँडेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको पैदल यात्रा सकिसकेका थिए ।
उनै ऋषि यतिबेला भने मुस्ताङसम्मको उल्टो पैदल यात्रामा निस्किएका रहेछन् । सो क्रममा उनी बिहीबार बेलुका तानसेन आइपुगेका थिए ।
'बुटवलको पुष्पलाल चोकदेखि पैदलयात्रा शुरू गरेको हुँ,' तानसेन दरबार परिसरमा भेटिएका ऋषिले भने, 'अहिले तानसेन घुमिरहेको छु । यहाँबाट स्याङजा, पोखरा हुँदै मुस्ताङ पुग्नेछु ।'
बाटोमा उनलाई देख्नासाथ फूल मालाले स्वागत गर्नेहरू हुन्छन् । फोटो खिचाउन आउनेहरू उत्तिकै हुन्छन् । बुटवलदेखि तीन दिनमा तानसेन आइपुगेको बताउने उनी २५–२६ दिनमा मुस्ताङ पुग्ने अनुमान सुनाए ।
यसअघि उनी ‘हिँडौँ स्वस्थ रहौँ’ भन्ने नारा सहित सयौं किलोमिटर हिँडेर मेची महाकाली उल्टो पैदलयात्रा पुरा गरेका थिए । त्यसका साथै आफ्नो र देशको चिनारी बनाउने उद्धेश्यले पनि मेची महाकाली उल्टो पैदलयात्रा गरेको उनले सुनाए ।
‘मेची महाकाली उल्टो पैदल यात्रा सकेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि प्रक्रिया शुरू गरिसकेको छु । वर्ल्ड रेकर्ड राखेर नेपाललाई नै विश्वसामु चिनाउन चाहन्छु,’ उनले भने । यसपटक भने ‘पर्यटन प्रवर्द्धनका लागि मुस्ताङसम्मको उल्टो पैदल यात्रा’ नाराका साथ यात्रामा निस्किएको बताए ।
पर्यटन प्रवर्द्धनका साथै ‘हिँडौँ स्वस्थ रहौँ’ भन्ने सन्देश पनि रहने उनी बताउँछन् ।
‘हिँडेपछि स्वस्थ्य भइन्छ भन्ने कुरा सबैलाई थाहा छ । हिँडेर स्वस्थ्य बन्नका लागि फेरि उल्टै हिँड्नुपर्छ भन्ने मेरो भाव होइन,’ उनले लोकान्तरसँग भने,‘हामी सुल्टो हिँडौँ तर समयलाई मध्यनजर गरेर हिँडौँ । दिनमा केही समय पैदल हिँड्यौँ भने पनि स्वस्थ रहन सकिन्छ ।’


