१९ असार २०८३, शुक्रबार

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

जेठ ८, २०७९
घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्न सक्ने नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले औंल्याएको छ ।

बैंकले बिहीवार सार्वजनिक गरेको वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदनमा पछिल्ला महीनामा आयातमा भएको वृद्धिका कारण बाह्य क्षेत्रको अवस्था दबाबमा रहेको भन्दै चालू खाता घाटा र विदेशी मुद्राको सञ्चिति घट्दा समग्र वित्तीय क्षेत्रको स्थायित्वमा प्रभाव पार्न सक्ने औंल्याइएको छ । कोभिड–१९ महामारीबाट नेपाली अर्थतन्त्र पुनर्उत्थानको चरणमा रहेको र आर्थिक गतिविधि विस्तार हुँदै गए पनि अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यले मुद्रास्फीतिलाई थप दबाब दिने आकलन गरिएको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले घटेर २०७८ चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ ।

वित्तीय क्षेत्रको विकास उत्साहजनक हुँदा वित्तीय पहुँचमा वृद्धि भएको, धेरैजसो स्थानीय तहमा बैंकको शाखा विस्तार भएको, इलेक्ट्रोनिक बैंकिङ उपकरण, र शाखारहित बैंकिङ जस्ता नवीन विधिहरू बढेको भए पनि समानुपातिक वितरण भने हुन नसकेको प्रतिवेदनले औंल्याएको छ । कोभिड महामारीका कारण राष्ट्र बैंकले दिएको ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका नियामकीय छूटका कारण बैंकमा खराब कर्जा स्थिर रहेको र यो सुविधा हटेपछि खराब कर्जा बढाउने केही जोखिम निम्त्याउन सक्ने पनि चेतावनी दिइएको छ ।

गैर–बैंक वित्तीय क्षेत्र विशेषगरी बीमा र सहकारी विस्तार हुँदै गएको, जीवन र निर्जीवन बीमा दुवैको आकार वृद्धि भएको र सामाजिक सुरक्षा कोष शुरु भए पनि  सहकारी क्षेत्रको नियमित रूपमा अद्यावधिक गरिएको तथ्यांकको अभाव रहेको र यसको प्रभावकारी नियमन नभएकाले सहकारीबाट समग्र वित्तीय स्थायित्व जोखिममा पर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा विशेषगरी बचत तथा ऋण सहकारीको अनुगमनलाई प्रभावकारी बनाउन समेत सुझाव दिइएको छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्