
सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै थप युवतीहरू पनि प्रहरीको सम्पर्कमा पुगेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा थप एकजना पीडित आएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा खटिएका अधिकृतका अनुसार उनको जाहेरी प्रहरीले दर्ता गरेको छ ।
८ वर्षअघि ब्युटी कन्टेस्टको नाममा काठमाडौंको एक होटलमा बलात्कार गरेको आरोप लगाउँदै एक युवतीले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो पोष्ट गरेकी थिइन् ।
भिडियोमा उनले ‘लेमनेड’मा आफूलाई बेहोस हुने औषधि दिएर बलात्कार गरेको बताएकी छन् ।
‘म त्यो कोठामा पटक-पटक होसमा आउँथे र फेरि बेहोस हुन्थेँ । उसले मलाई बलात्कार गरिरहेको हुन्थ्यो,’ भिडियोमा उनले भनेकी छन्, ‘पूर्णरुपमा होसमा आउँदा म र ऊ त्यो कोठामा नांगै अवस्थामा पाएँ, मलाई असह्य भएर ठूलो स्वरमा चिच्चाएँ ।’
त्यसपछि ती व्यक्तिले २० हजार रूपैयाँ दिएर फकाउन खोजेको बताएकी छन् । साथै भिडियो/फोटो खिचेको र सो सार्वजनिक गर्ने धम्की दिएर ६ महिनासम्म बलात्कार गरेको उनले आरोप लगाएकी छन् ।
उनी कुनै एउटा सुन्दरी प्रतियोगितामा फस्टरनर अप भएकी थिइन् । त्यसको सक्सेस पार्टीमा बोलाएर ती व्यक्तिले पटकपटक बलात्कार गरेको उनले बताएकी छन् ।