
मोरङको रंगेली नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार दिलिप बगडिया निर्वाचित भएका छन् ।
बगडिया १२ हजार ६८१ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गरेका छन् ।
बगडिया यसअघि माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । मेयर हँुदै उनी एमालेमा प्रवेश गरेका थिए । रंगेलीमा गत चुनावमा एमाले तेस्रो भएको थियो । गत चुनावमा पनि बगडियाले घिमिरेलाई नै पराजित गरेका थिए ।
यसपटकको चुनावमा एमालेले ६ वडाको सदस्यबाहेक सबै जितेको छ । सो वडामा जसपाकी सरस्वतीदेवी बहरदा वडा सदस्यमा निर्वाचित भएकी छन् ।
पराजित हुने घिमिरे नेपाली कांग्रेस मोरङका सचिव हुन् ।
यसै गरी उपप्रमुखमा पनि एमालेकै भूमाकुमारी पराजुली ११ हजार ७९० मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका पन्नालाल मण्डलले ५१७५ मत प्राप्त गरे । यहाँ कांग्रेस र जसपाबीच गठबन्धन भएको थियो ।