
नेपाली कांग्रेसले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाबाट सन्तुष्ट रहेको बताएको छ । चुनावी नतिजाले राष्ट्रिय चुनावमा गठबन्धनको आधार तय भएको कांग्रेसको निष्कर्ष छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चुनावको नतिजाबाट कांग्रेस सन्तुष्ट रहेको बताएका हुन् ।
‘३२० स्थानमा जितिसकेको र केही स्थानमा रहेकोले ३२६ स्थानमा हाम्रो पक्षमा आउँदैछ । चुनावको नतिजाबाट गठबन्धनको नेतृत्व खुशी हुनुहुन्छ । कांग्रेस सन्तुष्ट छ,’ महतले भने, ‘राष्ट्रिय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने आधार स्थानीय निर्वाचनको परिणामले स्पष्ट गरेको छ ।’
महतले गठबन्धनका सहयोगी दलहरूले पनि उल्लेख्य सफलता हासिल गरेको दाबी गरेका छन् ।