२४ जेठ २०८३, आइतबार
चुनावपछि सीमा नाकाको दृष्य

मुग्लान फर्के चुनावमा भोट हाल्न आएका नेपाली, स्वदेशमा रोजगारीको सपना अधूरै

जेठ ९, २०७९
मुग्लान फर्के चुनावमा भोट हाल्न आएका नेपाली, स्वदेशमा रोजगारीको सपना अधूरै

अछामको देवदहका खडक खाती वैशाख २५ गते घर फर्किएका थिए । भारतको नयाँदिल्लीस्थित एक कम्पनीमा काम गर्दै आएका उनलाई छिमेकीले भोट हाल्न आउन अनुनय गर्न थालेपछि फर्किएका थिए ।

नागरिक कर्तव्य र मताधिकारबारे बुझेका खाती आफ्नो एक भोटले राम्रो जनप्रतिनिधि आए कामका लागि भारत पस्ने दिनको अन्त्य हुने आशा पनि राख्छन् तर चुनाव सकिएपछि घर खर्च जोहो गर्ने पिरलो थपिएपछि उनी पुनः भारततिर लागेका छन् ।

गौरीफन्टा सीमा नाकामा भेटिएका उनले भने, ‘भोट त पटक–पटक दिएर जिताइयो तर के गर्नु ? गाउँको हालत उही छ । गाउँमा काम गर्ने वातावरण आज बन्ला, भोलि बन्ला भन्दै समय जान्छ, समस्या ज्यूँका त्यूँ छन्, इन्डिया जानैपर्‍यो हुजुर !’

सँगै रहेकी उनकी पत्नी ईश्वरा खातीले थपिन्, ‘फोन गरेर भोट मात्रै माग्छन्, बोलाउँछन् तर काम केही गर्दैनन् । उनीहरूका लागि यत्रो टाढा दिल्लीबाट भोट हाल्न आइयो । आफ्नो हालत यस्तो छ, इन्डिया नगई हुँदैन ।’

यसपालि पनि चुनावमा होमिएका राजनीतिक दल तथा दलका उम्मेदवारको साझा एजेण्डा उही थियो, गाउँमा रोजगारी । यसपटक यही नारा र एजेण्डा नै बढी बिक्यो तर यहाँका युवाले भारत पस्ने क्रम कहिल्यै रोकिएन । युवाहरू केवल मतदातामा मात्रै सीमित भए ।

कामका लागि भारत जान लागेका कैलालीको जोशीपुर–३ का सुशील डंगौरा पनि आफ्नो टीमसहित गौरीफन्टा नाकामा भेटिए । आफ्नै आफन्त स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि उनी चुनाव आउन १ हप्ता बाँकी रहँदा गाउँ फर्किएका थिए । आफू इलेक्ट्रिसियनको काम गर्दै आएको बताउँदै उनले सीप अनुसारको काम गाउँघरमा नभएपछि भारत जानुपर्ने बाध्यता रहेको सुनाए ।

खाती दम्पती र डंगौरा प्रतिनिधि पात्र मात्रै हुन् । चुनाव सकिएपछि मात्रै होइन, यो नाका भएर सधैं आउने र जानेकै भीडभाड हुन्छ ।

नेपाल प्रहरीको चेकपोस्ट डोकेबजार कञ्चनपुरका अनुसार गौरीफन्टा नाका भएर मात्रै दैनिक ५०० बढी नेपाली कामको खोजीमा भारत पस्छन् । वैशाख ३० गतेको चुनावलाई लक्षित गरेर वैशाख २७ गते राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमा सील गरिएको थियो । सो अवधिबाहेक भारतबाट आउने र जानेहरूको संख्या एकनास हुने गरेको अधिकारीहरू बताउँछन् ।

कामको खोजीमा भारत पस्ने युवाको लस्करले दलका चुनावी एजेण्डालाई गिज्याउँदै आएको छ । देशको शासन व्यवस्था फेरिए पनि भारत पस्ने युवाको अवस्था फेरिएको छैन ।

भारत पस्दै गरेका कैलालीको लम्कीचुहा नगरपालिका–४ का नरबहादुर रावतले भने, ‘बडो दुःखका साथ भन्नुपर्छ, हामी भारत पस्ने नेपाली नै यस्तै हौं कि हाम्रो बाध्यता । भारत जानैपर्ने । यस्तै हो भने कहिल्यै पूरा नहुने युवा स्वरोजगारीको एजेण्डा चुनावमा ल्याउनु बेकार हो । नेताहरूलाई भोट मात्रै त चाहिएको हुन्छ । हामी केवल मतदाता मात्रै त हौं । त्यसैले चुनाव आएपछि हामी फेरि पनि भोट हाल्न अर्को चुनावमा आइहालौंला नि ? बाईबाई नेपाल ।’

salt training

कमेन्ट गर्नुहोस्