
मोरङका १७ वटै पालिकाका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विराटनगर महानगरपालिका मेयर नागेश कोइराला, सुनवर्षी नगरपालिकाका श्याम राजवंशी, सुन्दरहरैँचाका केदारप्रसाद गुरागाईँ, रंगेलीका दिलीपकुमार अग्रवाल, उर्लाबारीकी गंगा खरेल, पथरीशनिस्चरका मोहन तुम्बापो, बेलबारीका दिलप्रसाद राई (डीपी) लेटाङका भूपेन्द्र लावती, रतुवामाईका नागेश्वरप्रसाद सिंह गन्गाईले शपथ लिएका हुन् ।
त्यस्तै कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति ईङ्नाम, केराबारीका सुमन मिरिङचिङ, मिक्लाजुङका बबी राई, ग्रामथानका जयप्रकाश चौधरी, कटहरीका देवराज चौधरी, जहदाका जितेन्द्रप्रसाद साह, धनपालथानका जिवछ गच्छदार र बुढीगंगा गाउँपालिकाका जीतनारायण थापामगरले पनि शपथ गरे ।
उनीहरूलाई मुख्य निर्वाचन अधिकृत भरत लम्सालले शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुखहरूले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने उद्घोष गरेका छन् । उनीहरूले सबैको साझा भएर काम गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले भ्रष्टाचारमुक्त नगर बनाउने उद्घोष गरेका छन् । उनले आफू पनि भ्रष्टचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिनेसमेत बताए ।
कानेपोखरी गाउँपलिकाकी प्रमुख राजमति इङनामले एक कार्यकाल उपाध्यक्ष भएर चलाएको अनुभवले ५ वर्षे कार्यकालमा नमुना गाउँपालिका बनाउने प्रतिबद्धता जनाइन् । महिलाले नेतृत्व गरेको पालिका अब्बल छ भन्ने बनाउने आफ्नो योजना रहेको उनले बताइन् ।
विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निरौला कार्कीले ‘शिक्षित र सबल महिलाको घर विराटनगर’ भन्ने नारा दिएर काम गर्ने बताइन् ।
प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले दलहरूकै सहयोगका कारण मोरङमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्न सहज भएको बताएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनप्रतिनिधिले जनताको सरकार आफूसँगै छ भन्ने अनुभूति हुने गरी काम गर्नुपर्ने धारणा राखे ।
मोरङका १७ पालिकामध्ये नेकपा एमालेले ८ वटा पालिकामा प्रमुख/उपप्रमुख नै जितेको छ । एक पालिकामा प्रमुख र ४ वटा पालिकामा उपप्रमुख मात्र जितेको छ ।
त्यस्तै नेपाली कांग्रेसले ३ वटा पालिकामा प्रमुख/उपप्रमुख दुवै जितेको छ । ५ वटा पालिकामा प्रमुख मात्र जितेको छ ।
नेपाली कांग्रेसले बेलवारी र नेकपा माओवादी केन्द्रले मिक्लाजुङमा उपप्रमुख जितेका छन् ।