०९ साउन २०८३, शनिबार

बुद्ध एयरले फेरि शुरू गर्‍यो काठमाडौं–वाराणसी उडान

बुद्ध एयरले फेरि शुरू गर्‍यो काठमाडौं–वाराणसी उडान

कोभिड महामारीका कारण बन्द रहेको बुद्ध एयरको काठमाडौं वाराणसी उडान आजबाट पुनः सञ्चालनमा आएको छ ।

विगत २ वर्षदेखि स्थगित रहेको बुद्ध एयरको अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालनमा आएको छ । 

यसअघि बुद्ध एयरले भारतको वाराणसी साताको २ उडान, प्रत्येक सोमबार र शुक्रबारको उडान तालिका सार्वजनिक गरेको थियो । 

आज त्यसै अनुसार काठमाडौंबाट बिहान ७:१५ बजे बुद्ध एयरको एटीआर जहाज भारतको वाराणसी उडान भरेको थियो ।

सो उडानमा यात्रु संख्या ४४ र उडान सञ्चालन दलका ६ जना रहेका थिए । त्यसैगरि वाराणसीबाट काठमाडौंको लागि ८ बजेर ४५ मिनेटमा उडान भरेको थियो । वाराणसीबाट ३९ जना यात्रु काठमाडौं आईपुगेका छन् । 

यो उडानबाट दुवै देशका व्यापारिक, धार्मिक तथा पर्यटकीय यात्रुहरूलाई सहज र सजिलो हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

हिन्दुहरूका लागि वाराणसी मुख्य तिर्थस्थलहरूमध्ये एक हो । यहाँ विश्वनाथ मन्दिरलगायत भगवान बुद्धले पहिलोपटक प्रवचन दिनुभएको सारनाथ पनि नजिकै रहेको छ । 

वाराणसीमा भारतीय तिर्थालुका साथै विदेशी यात्रुहरूको पनि चहलपहल निकै हुनेगरेको छ । यो उडानले विदेशी यात्रुहरूलाई पनि नेपाल आउजाउ गर्न सजिलो हुनेछ ।

त्यसैगरि भारतीय तिर्थालुहरूले पशुपतिनाथलगायत विभिन्न धार्मिकस्थलहरूको दर्शन गर्नसक्छन् । यस उडानबाट चर्को गर्मी छल्न ५० मिनेटको उडानमा भारतीय यात्रुलाई नेपाल आउन सहज हुनेछ । यसबाट पर्वतीय पर्यटन र सांस्कृतिक प्रवद्र्धनमा टेवा पुर्‍याउनेछ ।

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत दुवै देशका विभिन्न धार्मिक, पर्यटकीय गन्तव्यहरूको आकर्षक होलिडे प्याकेज पनि सञ्चालनमा आएको छ ।

बुद्ध एयरसँग ११ वटा एटीआर–७२, २ वटा एटीआर–४२ र २ वटा बीचएयरक्राफ्ट जहाजहरू रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्