
कछुवा संरक्षणका लागि नेपालमा कछुवाको पर्याप्त अध्ययन हुनुपर्ने संरक्षणकर्मीहरूले जोड दिएका छन् ।
विश्व कछुवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा संरक्षणकर्मीहरूले कछुवासम्बन्धी पर्याप्त अध्ययन नहुनु र सचेतना जगाउन नसक्नुले कछुवा संकटमा पर्दै गएको बताएका हुन् ।
पद्मकन्या बहुमुखी क्याम्पसका उपप्रध्यापक चन्द्रमणि अर्यालले कछुवासम्बन्धी नेपालमा पर्याप्त अध्ययन नभएको बताए ।
‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सन् २००८ देखि २०१८ को बीचमा नेपालका संरक्षण क्षेत्र भित्र जम्मा ६ वटा मात्रै अनुसन्धानका अनुमति लिइएको पाइयो,’ उनले भने, ‘संरक्षण क्षेत्र बाहिर पनि पर्याप्त अनुसन्धान भएका छैनन् ।’
उनले सरोकारवालाहरूले पनि कछुवालाई पर्याप्त ध्यान नदिएको बताए । कछुवाको खबटा घरमा राख्दा आँखा लाग्दैन तथा खबटा घोटेर खुवाउँदा बच्चाहरुको दम निको हुन्छ भन्ने अन्धविश्वासका कारण पनि विनाश बढ्दै उनको भनाइ छ ।

उनका अनुसार खानका लागि अव्यवस्थित रुपमा गरिने संकलन, वासस्थानहरूको विनाश र अन्तर्राष्ट्रिय रुपमा हुने व्यापार विश्वमा कछुवाका लागि मुख्य चुनौती हुन् ।
‘नेपालको सन्दर्भमा पनि अव्यवस्थित रुपमा गरिने संकलन र वासस्थानहरूको विनाश र गैरकानूनी व्यापार कछुवाका संरक्षणका लागि प्रमुख चुनौती हुन्,’ उनले भने, ‘नेपालमा सबैभन्दा बढी पाइने पुतली कछुवाहरूको अव्यवस्थित संकलन, बासस्थानको विनाश, घरमा पाल्ने आदि कारणले उनीहरुको अस्तित्व संकटमा पर्दै गइरहेको छ ।’
कार्यक्रममा त्रिचन्द्र क्याम्पसका वातावरण विज्ञान विभागका विद्यार्थी दुर्लभ पराजुलीले हेटौंडामा कछुवाहरूको संरक्षणका अवस्थाबारे जानकारी गराएका थिए ।
हेटौंडामा गरेको सर्भेमा २१ प्रतिशत मानिसहरुले कछुवाको मासु खाने गरेको पाइएको उनले बताए । कछुवाको वातावरण हुने भूमिका थाहा नहुनु, अन्धविश्वासलगायतका कारण कछुवाको अवस्था संकटमा पर्दै गएको उनी बताउँछन् ।
गोल्डेनगेट इन्टरनेशनल कलेजका वातावरण विज्ञान स्नातकोत्तर तह प्रमुख तथा क्यारोनका अध्येता प्रकाशचन्द्र अर्यालले बारा जिल्लामा पहेँलो कछुवाको अवस्थाबारे जानकारी दिएका थिए ।
बारा जिल्लामा गरिएको अध्ययनमा ६७ प्रतिशतले जंगलबाट पहेँलो कछुवा संकलन गरेको, ६० प्रतिशतले भविष्यमा पनि संकलन गर्ने, ८५ प्रतिशतले अरुले संकलन गरेको देखेको बताएको उनको भनाइ छ ।
यस्तै ५३ प्रतिशतले पहेँलो कछुवाको मासु खाएको, करीब ६६ प्रतिशतलाई कानूनले कछुवा संकलन ओसारपसार तथा खान वर्जित गरेको छ भन्ने विषयमा जानकारी नभएको र करीब ९८ प्रतिशतले त्यस क्षेत्रमा कछुवा संरक्षणका कुनै कार्यक्रमहरू नभएको जनाएको उनले बताए ।
‘आक्रामक नहुने भएकाले मान्छेले घरमा राख्न मन पराउने, संरक्षणमा चासो नभएकाले पनि कछुवा संकटमा पर्दै गएको छ,’ उनले भने ।
कार्यक्रममा सहभागीहरुले कछुवा संरक्षणलाई मानिसको जीविकोपार्जनसँग जोड्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

विश्वमा ३६० प्रजाति तथा ४८२ उपप्रजातिका कछुवाहरू पाइन्छन् । त्यसमध्ये करीब ५२ प्रतिशत संकटापन्न अवस्थामा छन् । १६ प्रजाति र १८ उपप्रजातिहरू पाइने नेपालमा ७५ प्रतिशत प्रजाति संकटापन्न अवस्थामा छन् ।
नेपालमा पाइने कछुवामध्ये रेडक्राउन रुफ्ड टर्टल (बातागुर कछुगा, थ्रि स्ट्राइप्ड रुफ्ड टर्टल बातागुर ढोगांखा र स्पोटेड पोण्ड टर्टल (जियोक्लेमिक्स ह्यामिल्टोनि)) पाइन्छ/पाइँदैन भनेर यसै भन्न नसकिने उपप्रध्यापक चन्द्रमणि अर्याल बताउँछन् ।
दिवसको अवसरमा वातावरण अध्ययन तथा संरक्षण केन्द्र, उभयचर तथा सरिसृपका साथीहरु (क्यारोन) तथा गोल्डेनगेट इन्टरनेसनल कलेजको आयोजनामा बत्तीसपुतलीस्थित कलेजमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा ५० जनाको सहभागिता थियो ।