३० असार २०८३, मंगलबार

राजनीतिक दलको ध्यान जिसस गठनतर्फ

जेठ १०, २०७९
राजनीतिक दलको ध्यान जिसस गठनतर्फ

३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । 
स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय समिति गठन गर्ने प्रावधान संविधानमा छ । पालिकाका जनप्रतिनिधिहरूले समन्वय समिति गठन गर्नेछन् ।

संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशमा १३ जिल्ला रहेको छ । १ सय १७ पालिकामध्ये १ सय १४ पालिकाको मतगणाना सम्पन्न भइसकेको छ । 
काठमाडौं, ललितपुर र भरतपुर महानगरमा मतगणना जारी छ । काठमाडौंको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यस्तै, ललितपुरको प्रमुखमा नेपाली कांग्रेस र भरतपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

अहिलेसम्मको सम्पन्न मतगणना र अग्रता लिइरहेको आधारमा हेर्ने हो भने काठमाडौं र ललितपुरमा कांग्रेसले एकल रूपमा जिसस बनाउन सक्ने बहुमत प्राप्त गरेको छ । 
अन्य जिल्लामा गठबन्धन गरेर मात्रै जिसस गठन हुने अवस्था रहेको छ । एमाले र माओवादी केन्द्रले गठबन्धन नगरी कुनै पनि जिल्लामा एकल रूपमा जिसस गठन गर्न सक्दैनन् ।

ललितपुरमा १२ मत रहेकामा नेपाली कांग्रेस ७ मत पाएको छ । कांग्रेसले चार प्रमुख तीन उपप्रमुखमा विजयी भइसकेको छ । ललितपुर महानगरमा अग्रता लिइरहेको कांग्रेसले त्यहाँ विजयी भएमा एकल रूपमा जिसस गठन गर्न पाउँछ ।

ललितपुरमा एमालेले प्रमुख÷उपप्रमुख गरी तीन स्थानमा विजयी भएको छ । पालिका प्रमुखमा दुई र उपप्रमुखमा एक एमाले विजयी भएको हो । त्यस्तै, माओवादी केन्द्र पालिका प्रमुख विजयी भएको छैन तर उसले उपप्रमुख दुई पालिकामा विजयी भएको छ ।

काठमाडौंमा कुल २२ मत रहेको छ । ११ नगरपालिका रहेको काठमाडौंमा मेयर÷उपमेयर गरी २२ मध्ये कांग्रेसले १२ मा विजयी भएको छ । कांग्रेसले प्रमुखमा सात र उपप्रमुख पाँच पालिकामा विजयी भएको छ ।

एमालेले प्रमुखमा दुई र उपप्रमुखमा पाँच गरी सात विजयी भएको छ । काठमाडौंको उपमेयरमा एमालेले अग्रता लिइरहेको छ । अग्रता लिएको पालिकामा एमाले विजयी भएको अवस्थामा उसँग आठ मत हुनेछ । राप्रपाले एक पालिका प्रमुख जितेको छ भने स्वतन्त्रले एक पालिकामा अग्रता कायम गरिरहेको छ ।

रसुवामा रोचक परिणाम आउने संकेत देखिएको छ । पाँच पालिका रहेको रसुवामा कांग्रेस र एमाले बराबर ५÷५ विजयी भएका छन् । जिसस बनाउनका लागि दुवै दलले बहुमत नपाएको र तेस्रो पार्टीले कुनै पनि पदमा विजयी नभएकाले उनीहरूले मिलेर जिसस बनाउनुपर्ने देखिन्छ ।

त्यस्तै, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा कांग्रेसले धेरै पालिका जिते पनि एक मत कम हुँदा तालमेल गर्नुपर्ने अवस्था रहेको छ । एकल बहुमत भएको स्थानमा आफ्नो पार्टीभित्रका पालिका सदस्यलाई ल्याउन पाउनेछ भने नभएको स्थानमा अन्य दलहरूका बीचमा तालमेल गरेर पद बाँडफाँट गरी मिलाउनुपर्ने हुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्