
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन् ।
बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम इतिहासकै नालायक र सारहीन भएको बताएका हुन् ।
उनले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरू चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गरे ।
‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ । यो इतिहासकै सबैभन्दा नालायक, सारहीन, गन्तव्य, दिशाविहीन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरश छ यो । यसमा कुनै दृष्टिकोण छैन’ उनले भने, ‘समाधान दिने यसमा कुनै दृष्टिकोण छैन । समयको अपव्यय मात्रै हो यो ।’
उपाध्यक्ष पौडेलले सरकारले अवलम्बन गरेका नीति तथा निर्णयहरूका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताए । उनले आर्थिक संकटको बारेमा सरकार मौन रहेको बताए ।
नीति तथा कार्यक्रमले विगतमा अगाडि बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उनको भनाइ छ ।
राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरूलाई अगाडि बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उनले आरोप लगाए ।
स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उनले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोसिस भएको पनि बताए ।