
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहको चुनावबाट देशको भविष्यलाई अँध्यारो सुरुङतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाएका छन् ।
चुनावमा सत्तापक्षले पञ्चायतभन्दा बढी अत्याचार गरेको ओलीको दाबी छ ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले चुनाव निष्पक्ष हुन नसकेको बताए ।
‘चुनाव जितेकोमा गर्व गरिराख्नुभएको छ होला, धेरै फुर्फुर देखिन्छ तर निर्वाचनजस्तो हुनुपर्यो, त्यस्तो देखिएन, परिणाम प्रकट गर्न पाएनन्,’ ओलीले भने, ‘यस निर्वाचनको माध्यमबाट हाम्रो संविधान, लोकतन्त्र, मौलिक अधिकार र हाम्रो राष्ट्रको भविष्यलाई अँध्यारो सुरुङतर्फ धकेल्ने प्रयास यस निर्वाचनको माध्यमबाट प्रकट भयो ।’
संसदमा लामो सम्बोधन गरेका ओलीले झण्डै १ घण्टासम्म सरकारका नीति तथा कार्यक्रमको आलोचना र चुनावमा सत्ताको दुरुपयोग गरेको व्याख्या गरेका छन् ।