रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको नियन्त्रणमा रहेका युक्रेनी क्षेत्रहरू खेर्सन र जापोरिझझियाका मानिसलाई रुसी नागरिकता तथा राहदानी पाउनका लागि सहज प्रक्रिया बनाउन आदेश दिएका छन् ।
ती दुई क्षेत्रलाई रुसीकरण गर्ने दिशामा यस आदेशले योगदान गर्नेछ । युक्रेनका भूभागमा कब्जा गरी रुसले आफ्नो भूमिबाट क्राइमिया प्रायद्वीपसम्म पुग्नका लागि स्थलमार्ग बनाउन सफल भएको छ ।
युक्रेनले पुटिनको यो आदेश अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै क्रेमलिनबाट आपराधिक व्यवहार गरिएको आरोप लगाएको छ ।
‘अवैध तरिकाले राहदानी जारी गर्नु युक्रेनको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको ठाडो उल्लंघन हो । यो अन्तर्राष्ट्रिय मानवीय कानूनका सिद्धान्तको पनि उल्लंघन हो,’ युक्रेनको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ ।
युक्रेनको डोनेत्स्क र लुगान्स्क क्षेत्रमा रुससमर्थक पृथक्तावादीहरूको नियन्त्रणमा रहेका क्षेत्रमा रुसले पहिले नै लगभग ८ लाख राहदानी जारी गरिसकेको छ ।
राहदानीका लागि निवेदन दिनेहरू रुसमा बसेको हुनुपर्दैन । उनीहरूले पर्याप्त रकम वा रुसी भाषाको परीक्षा पनि उत्तीर्ण गरेको हुनुपर्दैन ।