माघ २६, २०७९
पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा ‘भद्र सहमति’ भएको थियो– प्रचण्ड साढे २ वर्ष प्रधानमन्त्री बन्दा एमालेले सभामुख र राष्ट्रपति पाउने गरी । प्रचण्डले संसद्बाट विश्वासको मत प...
काठमाडाैं | जेठ १२, २०७९
जनता समाजवादी पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले गठबन्धनका घटक दलहरूबाट जसपाका उम्मेदवारलाई हराउनका लागि राजनीतिक षड्यन्त्र र बेइमानी भएको आरोप लगाएका छन् ।
लोकान्तरसँगको अन्तर्वार्तामा उनले गठबन्धन घटक दलहरूले ठूलो बेइमानी गरेकाले गठबन्धन आगामी दिनमा दुर्घटनामा पनि पर्न सक्ने चेतावनी दिए । कांग्रेस नसच्चिए गठबन्धन दुर्घटनामा पर्न सक्ने उनको चेतावनी छ ।
यादवले पार्टी फुटाएर गएका महन्थ ठाकुरलगायत नेतालाई पार्टी एकतामा आउन पनि आग्रह गरेका छन्। पार्टी एकताका लागि ढोका खुला रहेको उनको भनाइ छ ।
प्रस्तुत छ, जसपा अध्यक्ष यादवसँग लोकान्तरकर्मी अजय अनुरागीले गरेको कुराकानीको सम्पादित अंश :
स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेको छ । जनता समाजवादी पार्टी पनि पाँचदलीय गठबन्धनमा आबद्ध भएर निर्वाचनमा होमिएको थियो । मत परिणामलाई कसरी हेर्नुभएको छ ?
– मत परिणामले हामीलाई उत्साहित नै बनाएको छ । गठबन्धन बनाएको भएता पनि हामीले गठबन्धनबाट प्राप्त गर्नुपर्ने सहयोग र सद्भाव न्यून मात्रामा मात्र पायौं। गठबन्धनबाट जुन मत हामीले प्राप्त गर्नुपर्ने थियो त्यो हामीले न्यून मात्रामा मात्र पाएका छौं ।
अर्को कुरा के हो भने प्रतिकूल परिस्थितिमा हामीले चुनाव लड्यौं। साधन, स्रोत र शक्तिको अभावमा हामीले चुनाव लडेको भए पनि आज उत्साहजनक ढंगले मत पाएका छौं। पहिलेभन्दा अहिले हाम्रो मत बढेको छ। तलतल वडामा पनि पहिलेको भन्दा धेरै बढेको छ। पालिका स्तरमा पनि हामीले पहिलाको भन्दा कम पाएका छैनौं ।
जनता समाजवादी पार्टीले यसपटक पहाडतर्फ पनि आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्दै गएको छ। राष्ट्रिय पार्टी बनाउने क्रममा देशभरि आफ्नो प्रतिनिधित्व फैलाउने अवसर प्राप्त भएको हुनाले हामीले यो मत परिणामलाई सकारात्मक र उत्साहबर्द्धकरूपमा नै लिएका छौं।
गठबन्धनबाट कांग्रेस र माओवादीलाई मात्र फाइदा भयो भनेर तपाईंकै पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सञ्चारमाध्यममा अभिव्यक्ति दिनुभएको छ । गठबन्धनप्रति तपाईंको प्रतिक्रिया के छ ?
हाम्रो पार्टीको संगठन देशभरि नै फैलिँदै गएको छ। तर मूल आधार भनेको मधेश नै हो। मधेशको मुद्दा र मधेशका जनताको अधिकारका लागि लड्ने पार्टी भएकाले मधेशविरोधी सम्पूर्ण शक्तिहरू एकजुट भएर जसपालाई सिध्याउने षड्यन्त्र गरेका थिए। तर उक्त षड्यन्त्रलाई मधेशका जनताले विफल तुल्याइदिएका छन् । र मधेशमा फेरि पनि जनता समाजवादी पार्टी शक्ति हो भन्ने कुरालाई मधेशका जनताले स्थापित गरिसकेका छन् । त्यसकारण जुन रूपमा हामीले संख्याको अपेक्षा गरेका थियौं, त्यसमा गठबन्धनबाट सहयोग प्राप्त नभएकै हो ।
मधेश प्रदेशकै राजधानी जनकपुरधाममा कांग्रेसका उपमेयर निर्वाचित भएका छन् तर गठबन्धन र जसपाबाट मेयरका उम्मेदवार लालकिशोर साह पराजित मात्र भएनन्,चौथो स्थानमा सीमित भए । कांग्रेसका बागीले चुनाव जित्नुभयो । यसलाई कसरी हेर्नुभएको छ ?
जनकपुरमा त सिधासिधा कुरा छ, सबैलाई जगजाहेरै छ कि गठबन्धनबाट त्यहाँ धोका भएको छ। गठबन्धनको भरमा चुनाव लड्नु नै त्यहाँ धोका खानु हो। त्यहाँ गठबन्धनका घटक दलहरूले गठबन्धनमा भएका प्रतिबद्धताहरूलाई पूरा नगरिकन बेइमानी गरेको हो ।
स्वतन्त्र उम्मेदवार खडा गरेर गठबन्धन घटक दलहरूले जनता समाजवादी पार्टीलाई हराउनै लाग्या हो। त्यो डिजाइनमा लागेको हुनाले गठबन्धनको भर पर्नुभन्दा पनि एक्लै चुनाव लडेको भए जनता समाजवादी पार्टीको पक्षमा राम्रो नतिजा आउँथ्यो।
कांग्रेसबाट बागी भएर मेयर जितेका स्वतन्त्र उम्मेदवारको विजय जुलुस नेपाली कांग्रेसले निकालेको पनि देखियो। प्रदेश सरकारका मन्त्रीदेखि कांग्रेसका जिल्लास्तरीय नेताहरू समेत उक्त जुलुसमा सहभागी भएको दृश्य देखियो। त्यसलाई कसरी लिनुहुन्छ ?
यो भन्दा ठूलो राजनीतिक बेइमानी के हुन सक्छ? गठबन्धनको संस्कृति नै होइन यो। योभन्दा ठूलो विश्वासघात र राजनीतिक बेइमानी अरु के हुन सक्छ? अहिले त छरपस्ट भएको छ नि ! त्यस कारण म के भन्छु भने मधेशी जनताका विरुद्धमा लाग्ने मधेशीविरोधी शक्तिहरूले जहिले पनि मधेशमाथि प्रहार गरेका छन् । त्यसको मूल उदाहरण नै जनकपुर हो।
विराटनगर महानगरपालिकामा पनि गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका उम्मेदवार जित्नुभयो तर तपाईंकै छोरा उपप्रमुखमा पराजित हुनुभयो। यसलाई कसरी लिनुभएको छ ?
त्यहाँ पनि त जगजाहेर भएकै कुरा हो। तपाईंहरूलाई पनि थाहै छ कि त्यहाँ पनि गठबन्धनका घटक दलहरूले बेइमानी गरेकै कारण हामीले हारेको हो।
पार्टीको संगठन पहाडमा समेत विस्तार हुँदै गएको भनिरहनुभएको छ,तर तपाईंले नै पार्टीको आधार भनेको मधेशमा त सबैभन्दा ठूलो राजनीतिक दल पनि बन्न सकेन नि ?
तपाईंले नै भन्नु भएको जस्तै १ हजार ५ सयभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनु भनेको राष्ट्रिय स्तरमा निर्माणाधीन अवस्थाको पार्टीका लागि त धेरै ठूलो उत्साहको कुरा हो। त्यो त हाम्रा लागि ठूलो पूँजी पनि हो। यसैलाई आधार बनाएर अब हामी अगाडि बढ्ने हो।
मधेश प्रदेशको कुरा गर्ने हो भने पहिला पनि हाम्रो २४ सिट मात्र थियो। पहिला पनि हाम्रो संख्या थिएन। मधेशको चुनावमा त प्रशासनको हस्तक्षेप, पैसाको खोला बगाउने कार्यले प्रभावित गरेको हो। त्यहाँ पैसाको खोला बगाउन हामीले सकेनौं। हामीसँग त्यो क्षमता पनि छैन।
हामीसँग विचार छ, उद्देश्य छ, त्यसैलाई लिएर लडेको हो। चुनावमा राज्यसत्ताको शक्ति र धनबलको ठूलो प्रयोग भएको छ नि! धनबलको प्रयोग गर्ने र पैसाको खोला बगाउने कुरा हामी सोच्न पनि सक्दैनौं ।
त्यो राज्यसत्ताको हिस्सेदार त जसपा पनि छ । संघ सरकारमा सहभागी हुनुका साथै मधेश प्रदेश सरकारको नेतृत्व नै गर्नुभएको छ नि !
प्रदेश सरकारमा के छ र ? प्रदेश सरकार त नाम मात्रको सरकार हो नि ! न बजेट छ, न कानून छ । न सत्ता छ, न शक्ति छ। त्यही अधिकारका लागि त मुख्य लडाईं हो । प्रदेश सरकारलाई सक्षम बनाउनु पर्छ । प्रशासनिक शक्ति, आर्थिक शक्ति, स्रोत साधनमाथिको पहुँच हुनुपर्छ भन्ने नै लडाईं हो हाम्रो। अनि मात्रै संघीयता बलियो हुन्छ।
तपाईंले नै भनेजस्तै राज्य सत्ता र धनबलको प्रयोग कुन राजनीतिक दलले गर्यो त ?
त्यो त सबैले हेरेकै कुरा हो नि ! एउटा उम्मेदवारले करोडौं करोडको खर्च गरे। कहाँबाट ल्याए त ? यसपालि जुन तरिकाले चुनाव भयो यसले लोकतन्त्रलाई कमजोर बनाएको छ र खिल्ली उडाएको छ। भ्रष्टतन्त्र र लूटतन्त्रलाई आउने दिनमा यसले प्रोत्साहन गर्छ। हाम्रो मुलुक कुन दिशामा जाँदैछ, चिन्ताको विषय त्यो भएको छ।
घटक दलहरूबाट भएको बेइमानीका विषयमा अब बस्ने गठबन्धनको बैठकमा पनि कुरा उठ्छ त ?
निश्चितरूपमा गठबन्धनको बैठकमा यो विषयमा कुरा गर्छौं। अर्को मधेशी समुदायका उम्मेदवारहरूलाई हेर्यास गर्ने प्रयास भएको पनि देखियो। अहिले पनि कांग्रेस र कम्युनिस्टहरू नस्लवादी चिन्तनबाट मुक्त हुन सकेका छैनन्। उनीहरूमा राष्ट्रिय चिन्तनभन्दा पनि नस्लवादी चिन्तन नै हावी छ। त्यो कुरा यो चुनावमा पनि देखियो।
मधेशमा हेर्ने हो भने साविकको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले २०७४ को स्थानीय चुनावमा कुल ५१ सिट जितेका थिए । तर यसपटकको चुनावमा दुवै पार्टीले गरी जम्मा ३९ सिट मात्र मधेशमा जित्न सके । १२ सिटको त नोक्सान नै भएको छ। यसलाई कसरी लिनुहुन्छ ?
पार्टी विभाजनको असर पनि अलिअलि त परेकै हो। पार्टी विभाजित भएर गएको र बाँकी पार्टीभित्र पनि समायोजन हुन नसकेको अवस्थामा चुनावमा गएका हौं। केही कमी कमजोरी हामीमा पनि छ। टिकट वितरणमा पनि हामीले राम्रोसँग व्यवस्थापन गर्न सकेनौं । त्यो हाम्रो कमजोरी हो। साधनस्रोत आवश्यक मात्रामा जुटाउन सकिएन, त्यो पनि हाम्रो कमजोरी हो। तथापि पनि मूल कुरा संख्या होइन, मूल कुरा मुद्दा नै हो।
मुद्दाकै कुरा गर्ने हो भने विभाजित भएको जसपा र लोसपाबीच पार्टी एकीकरण फेरि सम्भव छ ?
सम्भव छ। यो अहिलेको समयको माग पनि हो। मैले त त्यो बेला पनि भनेको हो कि पार्टी विभाजन नगरौं। मैले उहाँहरूलाई पार्टीबाट हटाएको पनि होइन। उहाँहरूलाई कसले के भन्दियो त्यसैको आधारमा आफ्नै अहित हुने गरी आफैंले बनाएको पार्टीलाई फुटाएर जानुभयो। त्यतिखेर मधेशविरोधी केपी शर्मा ओलीको सरकारलाई चलाउने र सहयोगी बन्नेतिर जानुभयो । त्यसमा हाम्रो त के दोष छ र ?
फेरि पार्टी एकता सम्भव छ त ?
म त तपाईंकै सञ्चारमाध्यममार्फत आग्रह गर्न चाहन्छु, त्यो कुरा महसूस गर्नुहुन्छ, समीक्षा गर्नुहुन्छ भने आउनुस्, मिलेर अगाडि बढौं ।
चुनाव प्रचारकै क्रममा जनकपुरमा लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि मधेशको अधिकारका लागि लड्ने शक्तिहरूबीच तालमेल हुनुपर्छ भनेर भन्नुभएको थियो। त्यही बेला पनि त उहाँले प्रस्ताव गर्नुभएको थियो नि !
तर उहाँले हामीसँग गठबन्धन गर्नुभएन नि ! केपी ओलीसँग, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल र गठबन्धन गर्नुभयो। भन्ने एउटा कुरा र गर्ने अर्को कुरा देखियो। उहाँहरू पनि गठबन्धनबाट नै लड्नु भएको थियो। त्यो गठबन्धन गलत थियो, त्यो कुरा मधेशका जनताले पुष्टि गरिसकेको छ।
उहाँहरूले पार्टी फुटाएर उठाउनुभएको कदम पनि गलत थियो भन्ने कुरा त पुष्टि भइसक्यो। आज उहाँहरूकै नेता तथा कार्यकर्ताले भन्न थाल्नुभएको छ कि महन्थजीको निर्णय गलत थियो।
जुन बिन्दूबाट उहाँहरू गलत निर्णय गरेर केपी ओलीकहाँ जानुभएको थियो, त्यही विन्दुबाट फर्किनुभयो भने पार्टी एकताको आधार बन्छ ।
पार्टी एकता हुने हो भने फेरि पुरानै अवस्थामा फर्किने हो वा अहिलेको स्थानीय चुनावको मत परिणामअनुसारको संख्याका आधारमा ?
संख्या केही पनि होइन। मिलेर अगाडि बढ्ने हो। मिलेपछि दुवै दलको संख्या एउटै हुने हो। संख्या कुनै समस्या नै होइन। संख्या राजनीतिमा के हो र ?
जुनबेला मधेश आन्दोलन भइरहेको थियो, त्यो बेला हामीसँग संख्याको कुरा गर्ने हो भने त हामीसँग एउटा वडा सदस्य पनि थिएन। संख्या ठूलो होइन, विचार, सिद्धान्त, नीति तथा कार्यक्रम ठूलो कुरा हो।
हामीले ढोका मात्र हैन, एकताका लागि गेट पनि खोल्दिएका छौं। ताली एक हातले मात्र बज्दैन, दुवै हात बज्नु पर्छ ।
संघ र प्रदेशको चुनावलाई लक्षित गरेर एकताको कुरा गर्नुभएको हो?
चुनाव त एउटा अभ्यास न हो। चुनाव नै हाम्रो अन्तिम लडाई र गन्तव्य होइन। जुनसुकै परिस्थितिमा पनि चुनावी अभ्यासमा लाग्ने हो। परिणाम के हुन्छ भन्ने ठूलो चिन्ता हमीलाई छैन।
यो मुलुकलाई दुर्घटनाबाट बचाउने, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने, अधिकारविहीन रहेको सीमान्तकृत, बहिष्कृत समुदायहरूलाई अधिकारसम्पन्न बनाउने विषयमा हामीलाई ठूलो चिन्ता छ ।
त्यही हाम्रो मिसन पनि हो। संख्या हाम्रो लागि केही होइन । हिजो केपी ओलीलाई हामीले पनि साथ दिँदा दुईतिहाइ नै संख्या पुगेको थियो। तर त्यो संख्या त कुनै काम लागेन। त्यो संख्याको सदुपयोग गर्नुको साटो दुरुपयोग गर्दा ओली अहिले कहाँ पुग्नुभयो त्यो त देखिएकै छ ।
नेपाली कांग्रेसकै कुरा गर्ने हो भने २०१५ सालमा दुईतिहाइको बहुमत थियो। तर कहाँ पुग्यो? अहिले नै हामीले गठबन्धनबाट हात झिक्ने हो भने कांग्रेस कहाँ पुग्छ ? त्यसैले संख्या ठूलो कुरा होइन। संख्या पाएपछि काम पो गर्ने हो।
ठूला राजनीतिक दलहरूले भन्न थाले कि मधेसवादीहरूको पसल अब चल्नेवाला छैन। मधेशका जनताले पनि अब मूलधारकै पार्टीलाई रोजिरहेका छन्। के अब मधेसवादीहरूको पसल बन्द नै हुन लागेको हो त ?
हामी मधेशवादी होइनौं। हामी समाजवादी हौं। हाम्रो पार्टी समाजवादी हो । हामी समाजवादी हौं। मधेश मुक्तिको सवाल, जातीय मुक्तिको सवाल, राष्ट्रिय मुक्तिको सवाल, समानुपातिक प्रतिनिधित्वको सवाल, पहिचानको सवाल हाम्रो लागि महत्त्वपूर्ण राजनीतिक मुद्दा हो। ती मुद्दाहरू हल नहुञ्जेलसम्म आन्दोलन चलिरहन्छ। यो विषयले ठाउँ पाइरहन्छ ।
कांग्रेसले त २०४६ सालमै भनिसकेको थियो कि अब राजनीतिक मुद्दा सकियो। ४६ सालको संविधान जारी भएपछि नै कांग्रेसले सबै राजनीतिक विवाद सकियो, सबै हल भयो भनेर भनेको थियो। तर त्यसो भएन त ।
हिजो साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभयो ? निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै भएको भेटवार्तामा के छलफल भयो?
केही खास छलफल भएको होइन। चिया खाएर हाइ- हेल्लो गर्ने काम मात्र भयो।
एमालेसँग नयाँ गठबन्धन वा राजनीतिक ध्रुवीकरण हुन लागेको हो?
होइन, होइन। त्यस्तो केही पनि होइन। नयाँ कुनै गठबन्धन बन्दैन। अहिलेकै पाँचदलीय गठबन्धन कायम रहन्छ।
त्यसो हो भने के यो गठबन्धन प्रतिनिधि सभा र प्रदेश सभाको चुनावसम्म नै जान्छ त ?
नेपाली कांग्रेसले आफूमा सुधार ल्यायो र गठबन्धनका शर्तहरू इमान्दारीपूर्वक पालना गर्यो भने गठबन्धन चुनावसम्म सक्छ, नत्र दुर्घटना पनि हुन सक्छ । त्यसको ग्यारेन्टी कसले लिन्छ ? तर हाम्रो चाहना यो गठबन्धन चुनावसम्म नै जाओस् भन्ने हो । तर जसरी स्थानीय चुनावमा हामीलाई धोका दिइयो त्यसले त कहीँ पनि जाँदैन। गठबन्धन दुर्घटनामा पनि पर्न सक्छ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अहिले मुलुकको अर्थतन्त्र संकटमा छ। आर्थिक र सामजिक संकटमा मुलुक फस्दै गएको छ। महंगी, भ्रष्टाचार र लूटतन्त्रमा मुलुक फस्दै गएको छ। यो सबै संकटबाट मुलुकलाई निकाल्नका लागि हामी सबै सचेत हुनुपर्छ र अगाडि बढ्नुपर्छ ।
पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा ‘भद्र सहमति’ भएको थियो– प्रचण्ड साढे २ वर्ष प्रधानमन्त्री बन्दा एमालेले सभामुख र राष्ट्रपति पाउने गरी । प्रचण्डले संसद्बाट विश्वासको मत प...
नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण ब...
२८ पुस २०७९ मा ५८ सांसदको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्, नेकपा एमालेका लिला गिरी । तीन महिना सरकारको नेतृत्व गर्न नपाउँदै लुम्बिनीमा सत्ता परिवर्तनको खेल शुरू भएको छ । केन्द्रमा ब...
भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहता नेपाल मामिलामा धेरै जानकारी राख्ने बुद्धिजीवी हुन् । मेहताको विश्लेषण भारतीय संस्थापनसँग नजिक र मिल्दोजुल्दो पाइन्छ । नेपालसँग सरोकार राख्नेगरी दिल्ल...
राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) पुस १० गते भएको भद्र सहमतिबाट पछि हट्न खोजेको आशंकासहित सहयात्री दल एमाले सशंकित छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ...
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सबैलाई मान्य हुने खालको पात्र राष्ट्रपति बन्नुपर्ने बताएका छन् । राष्ट्रपति पदको गरिमा बचाउनलाई पनि सो पदका लागि लायक र योग्य व्यक्ति राष्ट्रपति बन्नुपर्ने उनको भनाइ छ । ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...