
रुपन्देहीको दक्षिणी क्षेत्रमा अवस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकामा नेकपा एमालेका लागि निर्वाचन जित्न त परको कुरा उम्मेदवार पाउन नै मुस्किल पर्थ्यो । मधेशबाहुल क्षेत्रमा पर्ने लुम्बिनी सांस्कृतिकमा मधेशवादी दल बलिया थिए । यस क्षेत्रबाट एमालेले कहिल्यै पनि निर्वाचन जित्न सकेको थिएन ।
यसपटक पनि त्यहाँ एमाले कमजोर छ भन्ने धेरै अनुमान लगाएका थिए । तर, नतिजाले लुम्बिनी सांस्कृतिक नगरपालिकामा एमाले कमजोर होइन, पहिलो शक्ति बन्यो । नगरपालिकामा उपमेयरसहित ५ वटा वडाअध्यक्ष प्यानल सहित विजयी भए ।
नगरपालिकामा २२ जना जनप्रतिनिधिसहित पालिकाको पहिलो दल एमाले बनेको एमाले राष्ट्रिय सभाका प्रमुख सचेत खिमलाल भट्टराईले बताए । भट्टराईले लोकान्तरसँग भने, ‘एमाले गाउँमा जाँदा पानी खाने, कसैको घरमा पस्ने ठाउँ समेत नभएको पालिकामा पहिलो शक्ति बन्नु ठूलो सफलता हो ।’

लुम्बिनी नगरपालिकाको उपप्रमुखमा एमालेबाट कल्पना हरिजन निर्वाचित भएकी छन् । त्यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा सुरज जैसवाल, वडा नम्बर ३ मा अकरामउद्विन मुसलमान, वडा नम्बर ४ मा विनोद श्रीवास्तव, वडा नम्बर १० मा विनोद कहार र वडा नम्बर १२ मा हरिकेश लोध निर्वाचित भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका समसुद्धिन मुसलमान निर्वाचित भएका छन् ।
रुपन्देहीकै गैडहवा गाउँपालिकामा यस अगाडि संघीय समाजवादी फोरम (हाल जसपा) विजयी भएको थियो । तर, यो पटक यस क्षेत्रमा पनि एमालेले जित निकाल्यो । सत्तारुढ गठबन्धन भएकाले एमालेलाई सबैले कमजोर आकलन गरेका थिए । तर, गठबन्धनलाई पराजित गर्दै अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडामा एमालेले जित निकाल्यो । अध्यक्षमा सुरेन्द्र पौडेल र उपाध्यक्षमा माधुरी जैसवाल निर्वाचित भए ।


भट्टराई भन्छन्, ‘गैडहवा र लुम्बिनीमा हामीले आमूल परिवर्तन गरेसँगै जनताले एमालेलाई रोजेका छन् । संगठन सुदृढ गर्न नेतृत्वको हिसाबले ‘मिहीन’ रूपमा लाग्दै विकास निर्माणलाई तीव्रता दिँदा एमालेका पक्षमा नतिजा आयो ।’
रूपन्देहीको क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने यी दुई पालिकामा एमालेले संगठनसँगै जनमतमा पनि आमूल सुधार गरेको एमाले जिल्ला कमिटी सदस्य सन्दीप गुप्ताले बताए । रुपन्देहीको क्षेत्र नम्बर ५ बाट भट्टराई आउँदो प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीका साथ संगठन, विकास र पार्टीका काममा निरन्तर खटिँदै आएको त्यस क्षेत्रका स्थानीयहरू बताउँछन् । भट्टराई क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने कञ्चन गाउँपालिकामा प्राविधिक कारणले पराजित भए पनि जनमतमा असर नपरेको जिकिर गर्छन् ।
रुपन्देहीको अर्को ओमसतिया गाउँपलिकामा पनि एमाले जितेको छ । अध्यक्षमा मन्जित यादव विजयी भएका छन् । त्यहाँ पनि यसअगाडि एमालेले कहिल्यै जीत निकाल्न सकेको थिएन । एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी शहरी नगरहरूमा एमाले यो पटक पराजित भए पनि ग्रामीण क्षेत्रमा संगठन सुदृढ गर्दै जीत निकालेको बताउँछन् ।
यस अगाडि ८ पालिका जितेको एमाले यो पटक ३ वटा पालिकामा मात्र जित निकालेको छ । देवदह नगरपालिका, गैडहवा गाउँपालिका र ओमसतियामा मात्र एमालेले जितेको छ । तिलोत्तमाको मतगणना जारी छ । जसमा एमालेका उम्मेदवार पछाडि छन् । बुटवलसहित शहरी क्षेत्रमा भने यसपटक एमालेको खुम्चिएको छ ।