
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले संविधान र जनताको भावना अनुसार भूमिसुधार लागू गर्न नसकिए नेपालमा राजनीतिक दलको अस्थित्व समाप्त हुने चेतावनी दिएका छन् ।
उनले जनभावना सम्बोधन नगरिए देशमा धेरै बालेन (काठमाडौंका स्वतन्त्र मेयर) जन्मने टिप्पणी गरे ।
सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि बिहीवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिँदै खनालले संविधानले गरेको व्यवस्था अनुसार कार्यान्वयन नभए देशमा धेरै बालेन जन्मिने बताएका हुन् ।
‘नेपालमा भूसम्पत्तिको वितरण अहिलेपनि अन्यायपूर्ण छ, न्यायोचित रुपान्तरण गर्न भूमिसुधार अनिवार्य छ, जसले गरेपनि यो सरकारले गरेपनि चुनावबाट आउने अर्को सरकारले गरेपनि,’ खनालले भने, ‘यदी त्यो ढंगले बढ्ने सकेनौँ भने हामी इतिहासमा धेरै पछाडि छाडिन्छौ र धेरै बालेनहरु जन्मने छन्, बालेनहरूले राज्य गर्नेछन्, पोलिटिकल पार्टीहरूको अस्तित्व र उपादेयता समाप्त हुँदै जाने छ । यदी हामी ठीक ढंगले चल्न जान चाहेनौँ सक्दैनौ भने ।’