
नेपाली लोकदोहोरी क्षेत्रकी पुरानी र लोकप्रिय गायिका बीमाकुमारी दुरा स्थायी बसोबासका लागि अमेरिका उडेकी छिन् ।
उनी आफ्नो श्रीमानसहित बिहीबार अमेरिका उडेकी हुन् ।
उनकी एकमात्र छोरी ४ वर्षदेखि अमेरिकामै छिन् । छोरीले सबै बन्दोबस्तो मिलाएपछि उनी अमेरिका बस्ने निधो गरेकी हुन् ।
अमेरिका उड्ने क्रममा गायिका बीमाले आफू बाध्यताले देश छाडेर जान लागेको बताएकी छिन् । छोटो भिडियो सार्वजनिक गर्दै उनले आफूजस्तो रोएर अरु जनतालाई हिँड्न नपरोस् भनेकी छिन् ।
‘मेरो देश प्यारो छ मलाई । मलाई हुर्कायौ, सात समुद्रसम्म घुमायौ धन्यवाद नेपाललाई’ उनले भनेकी छिन् ‘तर, न्याय कहाँ छ भन्न चाहान्छु ।’
गायिका बीमाकुमारीले गीत गाएको पैसा बचत गरेर काठमाडौं गोंगबुमा पाँचतले घर ठड्याएकी थिइन् ।
दुःखले जोडेको उक्त घर बिक्री गर्ने क्रममा उनी आफन्तबाटै ठगीको शिकार भएकी थिइन् ।
दुराले केही लाखको चेक पाएपछि विश्वासमा परेर घर पास गरिदिएको तर हातमा लालपुर्जा परेपछि ठगले सहकारीमा घर धितो राखेर डेढ करोड ऋण लिएका थिए ।
त्यसपछि ठग सम्पर्कविहिन हुँदा बीमाले बिलौना गर्दै आएकी थिइन् ।
एक महिनाअघि एक अन्तवार्तामा भक्कानिँदै भनेकी थिइन्, ‘म त एक वर्ष भयो, राम्रोसँग सुतेकै छैन ।’ तीन साता अघिमात्रै पनि एक अन्तवार्तामा उनले भनेकी छिन् ‘भूकम्प जाँदा जति सडकमा आएका थिए । भूकम्पले लगेको घरको त त्यहाँ जग्गा छ, छाप्रो हालेर बसिन्छ । मेरो त त्यो नि होइन् । भूकम्पले लगे म खुशी हुन्थे । मेरो त बासै हरायो, बासै छैन् ।’ उनी पछिल्ला केही महिनायता अन्तर्वार्ताको क्रममा निकै भक्कानिने गरेकी थिइन् । उनले दुई दिनअघि मात्रै पनि फेसबुकमा ‘म ठगिएपनि नेपाली जनता नठगिउन’ भनेर स्टाटस् लेखेकी छिन् ।
बीमाका पछिल्ला अभिव्यक्तिहरूबाट बुझ्न सकिन्छ, घर बिक्रीका क्रममा ठगिनु परेपछि उनले नेपाल छाडेर स्थायी बसोबासका लागि अमेरिका जाने निर्णय लिएकी हुन् ।
लमजुङ जिल्लाको दुराडाँडामा जन्मिएकी बीमाकुमारी तीन दशकभन्दा लामो समयदेखि लोकदोहोरी गीतसंगीतमा सक्रिय गायिका हुन् ।
गाउँघरमा रोधी र मेलापालमा आफ्ना दाई–दिदीहरूले झिकेका गीत छोप्दाछोप्दै गाउन सिकेको बताउने उनी एक समयकी ‘नम्बर वान’ लोकदोहोरी गायिका हुन् ।
दरबारमा समेत गीत गाएकी उनका थुप्रै गीत लोकप्रिय छन् । ‘छुट्यो मायाजाल’, ‘माझीदाइ पोखरा’, ‘जम्मु कस्मिरमा’, ‘हङकङ आइडीले’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘यो दाजुको मिर्मिर आँखा’, ‘पानसमा बत्ती बालेको’, ‘लडाइँको लाहुरे’, ‘दमौलीमा गेट’ जस्ता गीतहरू आजपर्यन्त पनि उत्तिकै चर्चित छन् । पछिल्लो समय उनका गीतहरू पहिलेजसरी भने सार्वजनिक हुने गरेका थिएनन् । यद्यपी लाइभ दोहोरीहरूमा भने उनलाई श्रोता दर्शकले हेर्न र सुन्न पाइरहेका थिए ।
लोकदोहोरी क्षेत्रमा कुनै समय चर्चामा रहेका अन्य केही कलाकारहरू यतिबेला अमेरिकामा छन् । केही महिनाअघि मात्रै पनि चर्चित मोडल रञ्जिता गुरुङ स्थायी बसोबासका लागि अमेरिका पुगेकी थिइन् ।