२८ असार २०८३, आइतबार

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई

धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’अन्तर्गत आज सम्पन्न भएको फाइनल खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीले उपाधि जितेको छ ।

धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । विजेता बनेको महेन्द्रनगरले रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले रु एक लाखमा चित्त बुझायो ।

टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रन बनाएको थियो । एक सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८.३ ओभरमा ११८ रनमात्रै बनाउन सक्यो । उसका लागि दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले टिमलाई १३ र सन्दीप खत्रीले १२ रनको योगदान दिए ।

बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्टले महत्वपूर्ण चार विकेट लिए । हेमन्त धामी र विपिन धामीले समान दुई–दुई तथा राहुल भण्डारी र विकास आग्रीले समान एक–एक विकेट लिए । त्यसअघि महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाए । महेन्द्रनगरका राहुल भण्डारी, हेमन्तधामी र विकास आग्रीले समान १३–१३ रन बनाए । बलिङतर्फ लिटल फ्लावरका कृष्ण कार्कीले तीन, दीपक बोहरा र कुशल रुपाखेतीले दुई–दुई तथा प्रकाश जैसी र सन्दीप खत्रीले समान एक–एक विकेट लिए । फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ सन्तोष भट्ट घोषित भए ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लिटल फ्लावरका दीपक बोहरा घोषित भए । उनले रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल, उत्कृष्ट बलर घोषित भएका धनगढी क्रिकेट एकेडेमीका हिक्मत महरा प्रतियोगिताका उदीयमान खेलाडीसमेत बन्न सफल भए । उनीहरूले जनही रु सात हजार ५०० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

यही जेठ ६ गतेदेखि सुरु भएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा देशका विभिन्न छ क्लब बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब कैलाली र कैलाली जिल्ला क्रिकेट क्लबले सहभागिता जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्