
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
जेठ ११ गते देखि १३ गतेसम्म पोखरामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, लुम्बिनी र कर्णाली प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ४४ जना शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो ।
प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो ।
बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तक्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावहरू समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्मा बढावा दिने लगायतका विषयहरूमा बृहत रुपमा छलफल गरि सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरू प्रत्येक बर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि आएको बिचार व्यक्त गरेका थिए ।
कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मुख्य प्रबन्धक पासाङ दोर्जे शेर्पा, लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुषाल, कर्णाली प्रदेश प्रमुख आश्विन पुडासैनी, तालिम तथा विकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी लगायत प्रधान कार्यालय बजेट कमिटीका अन्य सदस्यहरुको समेत सहभागिता रहेको थियो ।