
चिनी उत्पादन गर्ने मुलुकहरूले आफ्नो देशमा मूल्यवृद्धि रोक्नका लागि निर्यात प्रतिबन्ध लगाएकाले चिनीको मूल्य पनि बढ्ने अपेक्षा गरिएको छ ।
छिमेकी मुलुक भारतले पनि चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ ।
कोभिड महामारीका कारण विश्वव्यापी आपूर्ति शृंखलामा गम्भीर क्षति पुगेको छ । रुस र युक्रेनबीच चलिरहेको लडाइँले त्यसलाई झनै ध्वस्त पारेको छ किनकि रुसमाथि पश्चिमले आर्थिक प्रतिबन्ध लगाएको छ । रुस र युक्रेन गहुँका विशाल निर्यातक हुन् र उनीहरूको लडाइँले विश्वव्यापी आपूर्तिमा समस्या ल्याएको छ ।
अन्य मुलुकहरूले पनि अत्यावश्यक खाद्यसामग्रीको निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वव्यापी खाद्य सुरक्षा खतरामा परेको छ । खाद्यवस्तुको मूल्य थप बढ्ने जोखिम छ ।
गत सोमवार कजाकास्तानले चिनीको निर्यातमा ६ महिनाको प्रतिबन्ध लगाएको छ । भारतले पनि लगभग एक करोड टन चिनी निर्यात रोकेको छ ।
संसारको सबभन्दा ठूलो उत्पादक तथा निर्यातक ब्राजिलका उखु मिलहरूले पनि चिनी निर्यात रोकेका छन् । उनीहरू ऊर्जाको मूल्य वृद्धि भइरहेकोमा त्यसको फाइदा उठाउन इथानोल उत्पादनमा आकर्षित भएका छन् । उनले चार लाख टन कच्चा चिनीको उत्पादन रद्द गरेका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्रले दोस्रो विश्वयुद्धपछिको सबभन्दा ठूलो चुनौती बेहोरिरहेको बताएकी छन् ।
त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी भोकमरीको स्तर उच्चतम विन्दुमा पुगेको बताएका छन् । उनका अनुसार, विगत दुई वर्षमा भयानक खाद्य असुरक्षाको सामना गर्नेहरूको संख्या २७.६ करोड पुगेको छ ।