
कोरोना भाइरसको महामारीका कारण विदेशी भूमिकामा हुन नसकेको नेपाली फिल्म सम्बन्धी गतिविधि बढ्ने संकेत देखिएको छ ।
थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२ ’ आयोजना हुने भएको छ ।
शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोज केसीले ५ दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।
’हामीले नेपाली परिवेशको, नेपाललाई चिनाउने फिल्मलाई लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्याउँछ नै नेपाली कला , संस्कृतिलाई समेत प्रवर्द्धन गर्छ’ अध्यक्ष केसीले भने,’हामीले कोरोनाको महामारी पश्चात नेपाली फिल्मलाई लिएर विदेशी भूमिमा कार्यक्रम गर्न लागेका हौँ । उनले नेपाली फिल्म के –कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ – नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउन कार्यक्रमको आयोजना गरेकोमा जोड दिए ।
’हामी कहाँ के कस्ता फिल्महरु बनिरहेका छन । त्यो प्रवासी नेपाली दर्शकले थाहा पाउनु जरुरी छ । त्यसैले हामीले सेलेक्ट गरेर केहि फिल्म मात्र देखाउने छौँ,’ उनले भने ।
अध्यक्ष केसीका अनुसार, महोत्सवको अन्तिम दिन फिल्मकर्मीहरूलाई सम्मानित समेत गरिनेछ ।
थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस सहभागी हुनेछन् ।
महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरूको छनोट प्रक्रिया शुरू गरिएको बताएको छ ।
युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका फिल्महरु मध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ ।
थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराएका थिए ।
‘विदेशमा हुने नेपाली कार्यक्रम अपेक्षानुरुप हुने नगरेको इतिहास छ । हामी यो कार्यक्रममा त्यो इतिहास बदल्ने प्रयास गर्छौँ,’ उनले थपे, ‘यसै गरी देशबाहिर कार्यक्रम गर्दा आयोजकले मानिसहरू अवैधानिक रुपमा छाड्ने गरेको पनि गुनासो छ । हामीले त्यसो गरेको पाइएमा जे सजाय पनि भोग्न तयार छौँ ।’
महोत्सव घोषणा कार्यक्रममा वरिष्ठ कलाकार निर शाह, नायिका करिश्मा मानन्धर, निरुता सिंह, नायक सरोज खनाल लगायतले शुभकामना दिएका थिए ।
कलाकार नीर शाहले यस्तो खालका कार्यक्रमले नै विश्व बजारमा नेपाली फिल्म पुग्ने बताए ।
’हामीले नेपाली फिल्मको बजारलाई अगाडी बढाउन यस्ता गतिविधिले मदत गर्छ । यसलाई सम्पूर्ण फिल्मकर्मीले मिलेर सफल बनाउनु पर्छ,’ नीरले भने ।
उनले आयोजक मध्येका एक मनोज केसीले नेपाली अवार्डलाई पहिलोपटक विदेशीभूमिमा पुर्याएको स्मरण समेत गरे ।
’मनोजले नेफ्टालाई विदेशीभूमिमा गर्छु भन्दा फिल्मकर्मीले पत्याएनन् । सहयोग पनि गरेनन् । तर , मनोज सफल भए र आज विदेशमा सयौँ कलाकार लगेर अवार्ड गर्ने गरिन्छ । त्यसैले यस्ता कार्यक्रमलाई फिल्मकर्मी भएका नाताले सहयोग गरौँ । किनकी यसले केहि न केहि टेवा त पुर्याउँछ,’ नीरले भने ।
यस्तै करिश्माले आफ्नै मान्छेबाट पाइने उपाधि र सम्मानले झनै अगाडी बढ्ने प्रेरणा मिल्ने बताइन् । ‘हामीले विदेशी मार्केटमा नेपाली फिल्मको बढाउने गतिविधिले नै भोलि दर्शक बढ्ने हुन् । झनै यस्तो महोत्सवले राम्रा फिल्म हेर्ने मौका पाउँछन । यसको सहि सदुपयोगिता हुनु पर्छ,’ करिश्माले भनिन् ।
कार्यक्रममा उपस्थित सरोज खनालले आफूले नेपाली फिल्म प्रवर्द्धनका लागि गरिने कार्यक्रममा सहभागी हुनुका साथै सहयोग गर्ने पनि बताए ।
’यस किसिमको कार्यक्रमले हाम्रो कला , संस्कृतिलाई टेवा पुर्याउँछ । म यसमा सहभागी भएर प्रस्तुति दिन समेत आतुर छु,’ उनले भने ।
अभिनेत्री निरुता सिंहले आफू नेपाली फिल्मको प्रवर्द्धनका निमित्त सदैव साथमै रहेको बताइन् । मुम्बईबाट नेपाल आइपुगेकी निरुताले अब नेपाली फिल्मको अन्तराष्ट्रिय बजार बढाउन फिल्मकर्मीहरू जुट्नु पर्ने बताइन् ।
’हाम्रो नेपाली पन बोकेको फिल्म देखाएर दर्शक बढाउनु पर्छ । अब हामीले नेपालमै मात्र हाम्रो बजार सिमित राख्न हुदैन,’ निरुताले भनिन् ।
नेफ्टा अवार्ड मार्फत नेपाली कलाकारहरुलाई विदेशी भूमिकामा लगेर अवार्डको सुरुवात गर्ने मनोज केसीले अवार्ड कार्यक्रमले दर्शक बढ्नेमा आफू विश्वस्त रहेको बताए ।
घोषणा कार्यक्रममा नम्रता सापकोटा, गायक विक्रम जंग शाह, अभिनेता भुवन केसी, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष सन्दीप सापकोटा, फिल्म लेखक तथा समीक्षक सामिप्य तिमल्सेना, अभिनेता यशराज ग्राच, अभिनेत्री पुजना प्रधान, निर्देशक सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटोग्राफर विकाश रौनियार, गायक यम बराल, कलाकार दमन रुपाखेती, कलाकार शुलेमान शंकर ’इकु’ लगायतको उपस्थिति रहेको थियो ।