०१ साउन २०८३, शुक्रबार

चीनलाई जसरी पनि हराउने अमेरिकाको रणनीति, के हो ‘स्ट्राटेजी अफ डिनायल’ पुस्तकको तर्क ?

जेठ १७, २०७९
चीनलाई जसरी पनि हराउने अमेरिकाको रणनीति, के हो ‘स्ट्राटेजी अफ डिनायल’ पुस्तकको तर्क ?

एल्ब्रिज कोल्बीको पुस्तक स्ट्राटेजी अफ डिनायललाई अमेरिकामा अत्यन्तै प्रभावशाली पुस्तकका रूपमा लिन थालिएको छ । 

अमेरिकाका लागि चीन जोखिम हो भन्ने तर्क त्यसमा गरिएको छ । तर चीन किन जोखिम हो भन्ने विषयको व्याख्या चाहिँ अपाच्य किसिमको छ । 

अमेरिकीहरूलाई भौतिक सुरक्षा, स्वतन्त्रता र समृद्धि प्रदान गर्नु अमेरिकी रणनीतिको आधारभूत उद्देश्य हो भनी कोल्बी तर्क गर्छन् । यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण छैन ।

तर अमेरिकीहरूलाई सुरक्षा दिनका लागि अमेरिकाको विश्वव्यापी प्रभुत्व कायम रहिरहनुपर्ने कोल्बीको तर्क चाहिँ अस्वीकार्य छ । 

अमेरिकाले आफ्ना महत्त्वपूर्ण स्वार्थहरूको जगेर्ना गरिरहनका लागि आफ्नो पक्षमा शक्ति सन्तुलन कायम राख्नुपर्छ भन्ने कोल्बीको तर्क छ । अर्थात्, अमेरिका सबै क्षेत्रमा सबभन्दा शक्तिशाली मुलुक बनिरहनुपर्छ । 

कोल्बी थप्छन्, ‘यस केन्द्रीय उद्देश्य पूर्तिका लागि अमेरिकाले संसारका महत्त्वपूर्ण क्षेत्रहरूमा आफूलाई अनुकूल हुने सैन्य आर्थिक शक्तिसन्तुलन कायम गर्नुपर्छ ।’

कोल्बीका लागि शक्ति शत्रुको मृत्युमा निहित हुन्छ । उनी लेख्छन्, ‘शारीरिक बल, विशेषगरी हत्या गर्ने क्षमता, अर्कालाई आफ्नो कुरा मनाउनका लागि सबभन्दा प्रभावकारी हतियार हो । प्रभाव पार्नका लागि अन्य स्रोतहरू पनि उपलब्ध छन् तर ती सबैलाई हत्या गर्न सक्ने शक्तिले जित्छ ।’

उनी थप्छन्, ‘अर्कोलाई हत्या गर्न सक्ने क्षमता भएको शक्तिले कुनै पनि विवादलाई चर्काएर शत्रुमाथि हावी हुन सक्छ । यसलाई सम्बोधन नगरिएमा अर्को शक्तिशाली आफूमाथि हावी हुन्छ । त्यसैले आफ्नो हितको रक्षाका लागि अमेरिकाले भौतिक बल प्रयोग गर्नेतर्फ चासो दिनुपर्छ ।’

कोल्बीको पुस्तक यही तर्कमा आधारित छ । 

चीन अमेरिकाका लागि जोखिम हो किनकि चीनले जुन गतिमा प्रगति गरिरहेको छ, पछि गएर ऊ अमेरिकासँग डराउन छोड्छ । अमेरिकाले चीनलाई सिध्याउने क्षमता कायम राख्नुपर्छ र चीन त्यसबाट बचेमा अमेरिकाका लागि जोखिम रहिरहन्छ भन्ने कोल्बीको तर्क छ । 

यो कुनै पागलको प्रलाप हैन । कोल्बी अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनमा उपरक्षामन्त्री रहिसकेका व्यक्ति हुन् तथा उनको पुस्तक वाशिङटनमा प्रभावशाली मानिन्छ । 

अमेरिका सुरक्षित, स्वतन्त्र र समृद्ध रहिरहनका लागि पृथ्वीका अन्य सबै मुलुकलाई सिध्याउने क्षमता उससँग हुनुपर्छ भन्ने कुतर्कलाई सजिलै काट्न सकिन्छ । संसारका कैयौं देश त्यस्तो क्षमता नभइकनै सुरक्षित, स्वतन्त्र र समृद्ध छन् ।

त्यसैले आफ्नो जनताको हितका लागि विश्वव्यापी सैन्य प्रभुत्व कायम गर्नुपर्छ भन्ने सोच नै वाहियात छ । 

वास्तवमा यसको विपरीत कुरा चाहिँ सत्य हो । अमेरिकाले आफ्नो सेना र युद्धहरूमा धेरै खर्च गर्ने गरेकाले आफ्नो जनताको आवश्यकता पर्याप्त मात्रामा पूरा गर्न सकेको छैन ।

शक्ति रक्षात्मक नभई जहिले पनि आक्रामक हुन्छ भन्ने अमेरिकाको सोच देखिन्छ ।

अमेरिकाले आफ्ना जनतालाई सुरक्षा र स्वतन्त्रता दिनका लागि अन्य मुलुकलाई सिध्याउनै पर्दैन, आफूलाई रक्षा गरे पुग्छ । 

आफ्नो भूमिमा हुन सक्ने कुनै पनि आक्रमणलाई रोक्ने क्षमता अमेरिकाले हासिल गरेमा अमेरिकीहरूको भौतिक सुरक्षा र स्वतन्त्रता आफैं सुनिश्चित हुन्छ । 

तर अमेरिकाले संसारका अन्य मुलुकमा गरेको हस्तक्षेपले गर्दा नै अमेरिकीहरू कम सुरक्षित भइरहेका छन् किनकि यस कामले उनीहरूविरुद्धको शत्रुता बढेको छ । 

समृद्धिको कुरा गर्दा, समृद्धि सूचकांकमा अमेरिका आफूभन्दा कम शक्तिशाली मुलुकहरूको तुलनामा निकै तल छ । त्यसैले अमेरिकाले जनताको समृद्धिका लागि आक्रामक शक्ति उपयोग गर्नुपर्दैन । उल्टो, उसको सैन्य शक्ति उसकै लागि घातक साबित हुन सक्छ । 

चीन र भारत जस्ता मुलुकमा अमेरिकाको भन्दा चार गुणा बढी जनसंख्या छ । उनीहरू औसत अमेरिकीको जस्तै स्तरको समृद्धि आफ्ना जनताका लागि पनि चाहन्छन् ।

तर कोल्बीको तर्क मान्ने हो भने अमेरिकाले भारत र चीनलाई त्यस्तो समृद्धि हासिल गर्न दिन मिल्दैन ।

हुन पनि चीन र भारतको अर्थतन्त्र अमेरिकाको भन्दा चार गुणा ठूलो भएमा उनीहरू अमेरिका भन्दा कैयौं गुणा शक्तिशाली हुनेछन् । 

कोल्बीको किताबको तर्कअनुसार, त्यस्तो अवस्थामा शक्ति सन्तुलन चीन र भारतको पक्षमा जानेछ । त्यसलाई कदापि साकार हुन नदिनु कोल्बीको पुस्तकको मूल तर्क हो । 

यस्ता कुतर्कहरूका कारण यो पुस्तक नैतिक शून्यताले भरिएको छ । 

कोल्बीको रणनीतिको ठूलो हिस्सा चीनलाई ताइवानमाथि आक्रमण गराउन उत्तेजित पार्नुमा केन्द्रित छ । अझ, कोल्बी त चीनले ताइवानी सर्वसाधारणमाथि आक्रमण गरोस् र उनीहरूलाई कसैले प्रतिरक्षा नगरोस् भन्छन् । ताइवानी सर्वसाधारणको मृत्युलाई चीनविरुद्धको प्रचारबाजीका लागि उपयोग गर्ने उनको रणनीतिक लक्ष्य हो । 

यस्तो पुस्तकको प्रभाव वाशिङटनमा छ भन्ने थाहा पाउँदा नै आङ जिरिङ्ग हुन्छ । संसारका लागि कुन देश जोखिम हो भन्ने कुरा यो पुस्तक पढेपछि छर्लंग हुन्छ ।

चीनमा बस्ने फ्रान्सेली विश्लेषक अर्नाउ बर्ट्राँको समीक्षा
 

salt training

कमेन्ट गर्नुहोस्