२९ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

ओलीको आलोचना गर्दा घनश्याममाथि कारबाहीको डण्डा, गठबन्धनबाट नेकपा एसलाई धोका !

ओलीको आलोचना गर्दा घनश्याममाथि कारबाहीको डण्डा, गठबन्धनबाट नेकपा एसलाई धोका !

नेकपा एमालेका नेता घनश्याम भुसालमाथि कारबाहीको सिफारिस भएको छ । एमाले अनुशासन आयोगले उनलाई कारबाही सिफारिस गरेको हो । एमालेमा वैचारिक नेता मानिने भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकै कारण कारबाही सिफारिस भएका हुन् । अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठकले पार्टीको विधानविपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरिएको पुष्टि गरे ।

बडालले पार्टीका कुनै पनि सदस्यले पार्टीका विरुद्ध बोल्न नपाउने उल्लेख गर्दै सोको उलंघन भुसालबाट भएको बताए । पार्टीकै सदस्य हुँदाहुँदै पार्टीकै विरुद्ध बोल्ने छुट कसैलाई पनि नहुने दोहोर्याउँदै उनले पार्टीविरुद्ध बोल्ने हो भने राजीनामा दिनुपर्ने बताए । 

‘पार्टीका कुनै पनि सदस्यले आफ्नो पार्टीको दर्शन, सिद्धान्त, मूल्य, मान्यता नीति नियम, विरुद्ध बोल्न मिल्दैन उनले भने, ‘पार्टीको विधान बाहिर बोल्ने हो भने संस्थाबाट राजीनामा दिनुपर्छ ।’ पार्टी बाहिर भएकालाई आलोचना गर्ने छुट भएपनि कसैले पार्टीभित्रै बसेर त्यसो गर्छ भने त्यो क्षम्य हुन नसक्ने उनको भनाइ छ । ‘नागरिक भएर बोल्न पाइयो, पार्टीमा रहने तर पार्टी विपरित बोल्न भने कसैले पनि पाइँदैन’, उनले भने । 
उनले भुसालमाथि कारबाही सिफारिसको निर्णय जेठ १८ गतेकै बैठकले गरेको उल्लेख गर्दै शनिबार मात्रै यो विषयमा हल्लाखल्ला सुरु भएको पनि बताए । उनका अनुसार केन्द्रीय समितिमा कारबाहीका लागि सिफारिस गरेर १८ गते नै पठाइएको हो । आफूहरु सिफारिस गर्ने निकाय मात्रै भएको उल्लेख गर्दै यसबारे आवश्यक निर्णय भने केन्द्रीय कमिटीले नै गर्ने उनको भनाइ छ । 
उनका अनुसार प्राप्त उजुरी र आयोग आफैले पनि अध्ययन गरेर पार्टीविरुद्ध जाने सदस्यलाई कारबाहीका लागि सिफारिस हुने गर्छ । 

भुसाललाई अनुशासनको कारबाही गर्न सिफारिश भएसँगै पार्टीभित्र तरंग सिर्जना भएको छ । स्थानीय तहको निर्वाचन सकिएलगत्तै हिमालय टेलिभिजनलाई दिएको एक अन्तवार्तामा भुसालले पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै ओलीले राजीनामा गर्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । उनले २०६४ सालको संविधानसभा निर्वाचनमा पराजय व्यहोरेपनि माधव नेपालले राजीनामा गरेको प्रसंग उद्धृत गरेका थिए । 
यस्तै ९ महिनासम्म भएको संसद अवरोध गर्नुपर्छ भन्नेमा केपी ओली मात्र रहेको बताएका थिए । भुसालले सौराहामा सम्पन्न एमालेको १० औं महाधिवेशनलाई ‘काण्ड’को संज्ञा दिएका थिए । जुन महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित भएका थिए । 

उपाध्यक्षमा पराजित भएपनि उनी केन्द्रीय सदस्यमा भने विजयी भएका थिए । अनुशासन उल्लंघन भएको ठहर गरेमा एमालेको बैठकले उनलाई केही समयको लागि केन्द्रीय सदस्यबाट निलम्बन गर्न सक्ने विधानमा व्यवस्था छ । 

अनुशासन आयोगले कार्वाही सिफारिश गरेकोप्रति भुसालले भने केही बोलेका छैनन् । भुसाल केपी ओलीका कटु आलोचक मानिन्छन् । उनले यसअघि वामपन्थी दलबीच एकता नभए कम्युनिस्ट आन्दोलन विनाशको बाटोमा जाने भन्दै लेखेको लेखप्रति पनि ओलीले आपत्ति जनाएका थिए ।

यसैगरी भुसालमाथि कारबाही सिफारिसप्रति अर्का नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले अप्ठ्यारो बेलामा सबै समालिनु पर्ने भन्दै आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिकृयाले सही ठाउँमा नपुर्याउने बताएका छन् । 

‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिकृयाले सही ठाउँमा पुर्याउँदैन । फेरी पनि बादे बादे जायते तत्व बोध !’ उनले भनेका छन् ।

सामाजिक सञ्जालमा अर्की केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पनि कारबाही सिफारिसको विरोध गरेकी छन् । ‘अब पोखराका वडामा पार्टीलाई भोट हाल्ने तर मेयरमा नहाल्ने , भरतपुरका वडामा भोट हाल्ने तर मेयरमा भोट नहाल्ने , काठमाडौंमा वडामा भोट हाल्ने तर मेयरमा नहाल्नेहरु सबैलाई स्पष्टीकरण  सोधौँ । ति सबै भोटरहरु (एमाले समर्थक) पनि ओलीको आलोचक न परे ।’, उनले लेखेकी छन् । 
सामाजिक सञ्जलामा आयोगको सिफारिसलाई लिएर एमालेकै अन्य नेता कार्यकर्ताले पनि कटाक्ष गरेका छन् । 

‘लोकान्तर राउण्ड अप’मा अब अन्य समाचारः
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनमा गठबन्धनबाट अपेक्षाकृत सहयोग नभएको निष्कर्ष निकालेको छ । नेकपा एसले चुनावको समीक्षा गर्नका लागि सातवटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको छ । 

काठमाडौंमा शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढंगले समिक्षा गर्न सही सूचनाको आवश्यकता रहेको निष्कर्ष निकाल्दै त्यसको संकलनका लागि सबै प्रदेशमा १–१ जना सचिवालयका सदस्यहरुलाई खटाउने निर्णय गरेको हो । 

५ दिन भित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । 
बैठकमा गठबन्धन भित्र पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भिर ढंगले छलफल गरिएको उनले बताए ।
००००
एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकताको सम्भावना निकै कमजोर रहेको बताएका छन् । 
शनिवार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले तत्काल वामपन्थी दलहरूबीच एकताको आवश्यकता भए पनि त्यो सम्भावना भने अहिलेलाई कमजोर रहेको बताएका हुन् । 
‘वामपन्थीहरूबीच एकता हुनु वस्तुगत आवश्यकता हो । तर, यतिबेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरू अहिले वामपन्थी एकताको पक्षमा देखिनु हुन्न,’ उनले भने, ‘यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यकता भए पनि त्यो सम्भावना निकै कमजोर छ ।’
००००
राप्रपा नेपालका अध्यक्ष कमल थापाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा वकालत गरेका छन् । विराटनगरमा शनिबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा उनले यस्तो बताएका हुन् । 
विराटनगरमा‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुसँगको अन्तक्र्रियामा बोल्दै अध्यक्ष कमल थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए ।
००००
कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताको साथ समापन गरिएको हो ।
००००
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा शनिबार एक युवक मृत भेटिएको घटनालाई तनाव भएको छ । 
यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भिरमा  मृत भेटिएका थिए । निज शाहीको हत्या गरिएको भन्दै स्थानीयवासीले प्रदर्शन गर्दै प्रहरी कार्यालय र प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
००००
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थानपनबारे परामर्श गरेका छन् । बन्चरेडाडाँमा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो ।  
मन्त्री झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साईटको ’सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन् ।
००००
यसैबीच मेयर बालेन्द्र शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मेयर शाहले भेटवार्ता गरेका हुन् ।
००००
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ । 
प्रभावित क्षेत्र टांगियावासीले शनिवार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्र्म यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन् ।
००००
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । 

शनिवार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । 

दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित हुने लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाएको र त्यसमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्