
रुपन्देहीमा आइतवार बिहान भएको यात्रुबहाक बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ५ जनाको सनाखत भएको छ । दुर्घटनामा ९ जना मृतकमध्ये ५ जनाको सनाखत भएको हो ।
मृत्यु भएकामध्ये रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षका राजेन्द्र पाण्डे, रुपन्देहीकै तिलोत्तमा योगिकुटीका ४६ वर्षका विष्णु पौडेल, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ४८ वर्षका कृष्ण प्रसाद बस्याल, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीया दिनेश दास र भारतको जनकपुरग्रामका ४० वर्षका अरविन्द्र शर्माको पहिचान खुलेको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
दुर्घटनामा १ जना महिला सहित ९ जनाको मृत्यु भएको छ भने घाइते १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा २४ जना घाइते छन् । गाडीबाट ३३ जना यात्रुलाई उद्दार गरिएको थियो ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरको लु२ख ३८४१ नम्बरको रात्रीकालीन यात्रुबाहक बस बिहान पौने ६ बजे हुलाकी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहणी खोलाको पुलबाट खोलामा खसेको थियो ।
चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । गाडी चालक रुपन्देहीको तिलोत्तमाका ३६ वर्षीय सुमन क्षेत्रीपनि गम्भीर घाइते भएका छन् ।