
मंगलबारदेखि काठमाडौँको फोहोर व्यवस्थापन सुरु भएको छ । स्थानीयहरुले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र साामाजिक जीवन सुधारको माग राखेर विगत १० दिनदेखि फोहोर व्यवस्थापन कार्य रोकेका थिए । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोलको रोहबरमा त्रिपक्षीय प्रतिवद्धतामा हस्ताक्षर भएको थियो । हस्ताक्षरमा बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाकातर्फबाट निर्देशक रविन्द्र वोहोरा, काठमाडौँ महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल र धुनिबेँसी नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका हुन् ।
त्रिपक्षीय प्रतिवद्धताअनुसार सहरी विकास मन्त्रालयले प्रभावित क्षेत्रका ५ वटा क्षेत्रका लागि आ. व. २०७९÷०८० मा ४२ करोड ५० लाख रुपैयाँ, नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपण कार्यका लागि १ करोड ७० लाख विनियोजन गरेको छ ।
जग्गा अधिग्रहणका सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थालनी हुनेछ । यही प्रतिवेदनका आधारमा स्थानीयका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिनेछ । प्रतिवेदनकै आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजरको प्रक्रिया सुरु हुनेछ ।
काठमाडौँ महानगरले १ हप्ताभित्र धुनिवेँसी नगरको वडा १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नं. १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयबासीको स्वास्थ्य वीमा गर्नेछ । यसमा नेपाल स्वास्थ्य वीमा बोर्डको विधि र दोहोरो नपर्ने गरी वीमा हुनेछ । यी वडाहरुलाई यस अघि उपलब्ध गराइँदै आएको पूर्वाधार विकास अनुदानलाई निरन्तरता दिइनेछ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रतिवेदनका आधारमा ल्याण्डफिल साइटको दुर्गन्ध हटाउन १० दिनभित्रमा रसायनिक वा जैविक उपचार विधि अबलम्बन गरिनेछ ।
अहिले घर बाहिर निकालिएको फोहोर बर्गीकरण सम्भव नभएकाले सडकमा थुप्रिएको फोहोर यथास्थितिमा उठाइनेछ । यो क्रम बढीमा असार मसान्तसम्म चल्नेछ । यसलाई क्रमशः बर्गीकरणको विधि अबलम्बन गरिनेछ । साइटमा पु¥याइएको फोहोरलाई माटोले छोपेर व्यवस्थापन गरिनेछ ।
साउन १ गतेबाट स्रोतमा बर्गीकरण गरिएको फोहोर संकलन तथा ढुवानी कार्य हुनेछ ।
प्रतिवद्धताअनुसार आजबाट उपयुक्त विधिबाट साइटमा फोहोर व्यवस्थापनका लागि धुनिसेँसी नगर र ककनी गाउँपालिकाले सहयोग र सहजीकरण गर्नेछन् ।
प्रतिवद्धता हस्ताक्षर अवसरमा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, धुनिवेँसी नगरका प्रमुख बालकृष्ण आचार्य, ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष मीठूमाया तामाङ् सहभागी थिए । यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरी, ककनी गाउँपालिका वडा ३ का अध्यक्ष घननाथ बजगाईँलगायत जनप्रतिनिधि तथा पदाधिकारी सहभागी थिए । उनीहरुको रोहवरमा हस्ताक्षर भएको हो ।
साइटमा फोहोर लैजान नसकेपछि टेकुका स्थानीयले ट्रान्सफर स्टेशन बन्द गराएका थिए । नियमित फोहोर ढुवानी हुने भएपछि मात्र खोल्ने उनीहरुले भन्दै आएका थिए ।
महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईकाअनुसार आजैबाट फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य थालनी हुनेछ ।