
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतमसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
बोर्डका प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा बिहीवार मुद्दा दर्ता गरिएको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचनाबमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति दिएको पाइएको छ । बोर्डका कार्यकारी निर्देशकले पदपूर्ति समितिको संयोजक रही न्यूनतम शैक्षिक योग्यता हेर्ने जाँच्ने सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरूको दरखास्त फाराम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको आरोप पत्रमा उल्लेख छ ।
न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाई छिपाई योग्यता नपुगेका आवेदकहरूको दरखास्त फाराम ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरी गराई भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख छ ।
पदपूर्ति उपसमितिको संयोजक भई काम गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीउपर भ्रष्टाचार निवारण ऐन २०५९ को सोही दफा बमोजिम सजायको मागदाबी लिई मुद्दा दर्ता गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।