
प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट पेश भएको आर्थिक वर्ष २०७९÷८० वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भयो । छलफलमा प्रदेशसभा विभिन्न सदस्यले बोल्ने क्रम सुरु भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीमप्रसाद आचार्यले नीति तथा कार्यक्रममा ठोस कार्यक्रम नभएको र यो कर्मकाण्डी हिसाबले आएकाले सच्याउन सदनको ध्यानाकर्षण गराए।
उनले कृषि, सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, वनलगायतका क्षेत्रमा हुनपर्ने विकासका सम्बन्धमा क्षेत्रगत हिसाबले नछुट्याएको धारणा राख्दै भौतिक पूर्वाधारको रुपमा रहेको सडक, सिँचाइको निर्माण बिना अन्य विकासका कार्य टिकाउ नहुने भएकाले कार्यक्रममा सुधार गर्नुपर्नेमा जोड दिए । आचार्यले मल, बीउ, सिँचाइ, प्रविधि, कृषिको मुख्य आधार भएकाले यस सम्बन्धमा नीति कार्यक्रममा उल्लेख नभएको चर्चा गर्दै यसले प्रदेशको कृषि उत्पादन २० प्रतिशत कम भई आत्मनिर्भर होइन परनिर्भर बनाउने विचार राखे ।
उनले प्रदेशको नामकरणका लागि नेकपा एमालेले पूर्वमन्त्री हिक्मतकुमार कार्की सयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको र समिति सबै दलका सदस्यसँग छलफल एवं परामर्श गरी नाम टुङ्गो लगाउन पहल गर्ने जानकारी सदनलाई दिए ।
छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य उमिता विश्वकर्माले प्रस्तुत नीति कार्यक्रममा कृषि उत्पादनका लागि ‘एक पालिका एक उत्पादन’ले कृषकलाई सक्षम बनाउने विचार राखिन् ।
प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले वार्षिक कार्यक्रममा नगदेबाली उत्पादनमा जोड दिनुपर्ने चर्चा गर्दै स्रोत र साधनअनुसार कार्यक्रम रहेकाले सफल हुने विचार राखे ।
प्रदेससभा सदस्य वसन्तीदेवी यादवले कृषकलाई सहजरुपमा मल र बीउ उपलब्ध गराउने सम्बन्धमा कार्यक्रममा उल्लेख नभएको बताउँदै सबैलाई मान्य हुने प्रदेशको नामका लागि विराट, सगरमाथा वा कोसी राख्नुपर्ने सुझाव दिए ।