
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबारसम्म निगमले आइओसीलाई रु २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेलरमट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि गरेको छ ।