
अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रवार बिहान नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।
ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो ।
नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो ।
ओमानका लागि जिसन मक्सुदले अविजित रहँदै १ सय ४ रनको शतकीय इनिङ खेले ।
यस हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिवार खेल्नेछ ।
नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।