२४ असार २०८३, बुधबार
कृषि कर्म

इन्जिनीयरको जागिरमा मोह नगरेर च्याउ फलाउँदै बाबुराजा

जेठ २८, २०७९
इन्जिनीयरको जागिरमा मोह नगरेर च्याउ फलाउँदै बाबुराजा

बाबुराजा श्रेष्ठ मेकानिकल इन्जिनीयर हुन् । २०४६ सालमै उनले जापानबाट मेकानिकल इन्जिनीयरिङको पढाइ सकेका थिए । त्यतिबेला मेकानिकल इन्जिनीयर थोरै थिए ।

उनको मूल घर काठमाडौं हो तर उनले काठमाडौंलाई कर्मथलो बनाएनन् । विराटनगरमा बाल्यकाल बिताएका उनले विराटनगरलाई नै कर्मथलो बनाए ।

जागिर नै खान चाहेका भए उनले त्यतिबेला राम्रै जागिर पनि पाउँथे । उनका लागि अवसर पनि थियो । उनको ध्यान त्यो बेला जागिर खानेमा गएन, बरु उनको ध्यान प्रविधियुक्त कृषिमा गयो । 

बजारमा पाउने चाउचाउको विकल्प खोजेर उनले परम्परागत खानेकुराको संरक्षणमा ध्यान दिए । गुन्द्रुक, मस्यौरा लगायतका खानेकुराको प्रचारसँगै वर्षाैंसम्म राख्न मिल्ने गरीको योजना बनाए ।

कृषि इन्जिनीयर भएकाले उनले गुन्द्रुक, मस्यौरालाई सुकाउने (सुक्खा) बनाउने मशिन बनाए । कृषकलाई सिकाउने लक्ष्य राखेर मशिन बनाएर सिकाएको समेत उनले बताए । सुक्खा बनाएर राखेको खानेकुरा धेरै समयसम्म राख्न मिल्ने उनको दाबी छ ।

दूध बेचेर रक्सी किन्ने समाज !

उनी देशका विभिन्न जिल्ला घुमेका छन् । गाउँबस्तीमा पनि आफ्नो उत्पादनभन्दा बजारका चिजमा रमाउनेहरू उनले धेरै भेटेका छन् । विद्यार्थीको हातमा ‘जंक फूड’ देख्दा आँखाबाट आँसु आउने गरेको उनी बताउँछन् ।

भान्साका र्‍याकहरू पनि बजारकै खानेकुराले भरिएका हुन्छन् । पोषणको महत्त्व बुझाउन नसकेका कारणले पनि बालबालिकामा कुपोषण हुने गरेको उनी बताउँछन् । गाउँमा भएका खेतबारी बाँझै छाडेर बजारमा आएर कुकुर पालेको देख्दा अचम्म लाग्ने गरेको उनी बताउँछन् । 

‘मानव स्वास्थ्यका लागि च्याउ महत्त्वपूर्ण खाद्यान्न हो, यसको सेवनबाट प्रोटिन राम्रो पाइन्छ,’ उनले भने । च्याउले उच्च रक्तचाप तथा कोलेस्ट्रोल घटाउन सहयोग गर्ने, क्यान्सर रोग र ट्युमर घटाउन मद्दत गर्ने, अनावश्यक मोटोपन घटाउन सहयोग गर्ने र रक्तनलीमा अवरोधका कारणले हुने समस्यालाई न्यून गर्ने कुरा सिकाउनुपर्ने उनी बताउँछन् ।

‘दूध, दही, अण्डा जस्ता घरमा उत्पादन गरेका वस्तु बेचेर रक्सी, बिस्कुट, कोक किनेर खाने गरेका छन्,’ उनले भने, ‘पौष्टिक आहारको विषयमा जानकारी नहुँदा आफू पनि पौष्टिक तत्व नभएको खाना खाने र बच्चाहरूलाई पनि त्यही दिने चलन छ ।’ बच्चालाई फकाउनका लागि चाउचाउ, बिस्कुट दिनु झन् खतरनाक भएको उनी बताउँछन् ।

‘सोसल मिडियामा आउने विज्ञापनका कारण पनि बालबालिकामा असर पर्‍यो । अहिलेको मेरो अभियान भनेको जंक फूड तथा अल्कोहलजन्य वस्तु नियन्त्रण गर्नु हो,’ उनले भने । देशैभर जंक फूडको असरबारे जानकरी गराउने लक्ष्य लिएको उनले बताए । 

मेकानिकल इन्जिनीयरदेखि अर्ग्यानिक कृषकसम्म

पढाइले मेकानिकल इन्जिनीयर रहेका उनी अहिले पौष्टिक आहाराका रूपमा चिनिने च्याउखेती गरिरहेका छन् । उनले च्याउखेती मात्रै गरेका छैनन्, च्याउ प्रशिक्षण केन्द्रका रूपमा समेत विकास गरिरहेका छन् । च्याउ खेती सिक्न आउनेका लागि निःशुल्क खाना, बस्न दिएर उनले सिकाउने गरेका छन् । 

सिकेपछि व्यवसाय गर्छु भन्नेलाई पहिलो प्राथमिकता दिने गरेको उनी बताउँछन् । परम्परागत खेतीभन्दा पनि प्रविधिको प्रयोगबाट खेती गर्ने गर्छन् उनी । वैकल्पिक ऊर्जामार्फत उनले च्याउखेती गर्ने गरेका छन् ।

पराल काट्नेदेखि बफाउने, सुकाउने, प्याकिङ गर्ने आफैंले मशिन बनाएका छन् । ती मशिनहरू वैकल्पिक ऊर्जा सोलारको प्रयोगबाट चलाउने गर्छन् । सिँचाइ गर्न पानी तान्ने मोटर समेत वैकल्पिक ऊर्जाबाटै चलाइरहेका छन् । उनले १२ महिना नै च्याउ उत्पादन गर्ने गरेका छन् ।

दैनिक ३०–४० किलोसम्म च्याउ उत्पादन हुने गरेको उनी बताउँछन् । ‘उत्पादन गरेको च्याउ बजारसम्म लैजानुपर्दैन,’ उनले भने । बिहान उनको घरमा च्याउ किन्नेको भीड लाग्ने गरेको छ । 

वैकल्पिक ऊर्जामा पनि अब्बल बाबुराजा श्रेष्ठ 

उनी नवीकरणीय ऊर्जामा पनि अब्बल छन् । देशैभर २ घण्टा लोडसेडिङ भएको बेला विद्युत् भार घटाउन वैकल्पिक ऊर्जामा समेत काम गरेका छन् उनले । १४ जना इन्जिनीयर मिलेर नविकरणीय ऊर्जा सोलारको नेपालमा पहिलो कम्पनी खडा भएको थियो । २ जना लगानीकर्ता अमेरिकाबाट पनि नेपाल आएका थिए । तिनै अमेरिकाबाट आएका लगानीकर्ताले ४० घरधुरीलाई निःशुल्क सोलार दिने बताए तर आफ्नो पनि लगानी भएको चिज मात्रै संरक्षण हुन्छ भन्ने ठानेर केही रकम उठाएर ६० घरलाई दिएका थिए । इन्जिनीयरहरूले अमेरिकाबाट पाता मात्रै ल्याएका थिए, बल्ब, ब्याट्री, तार नेपालमै उत्पादन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्