
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । छत्रपाटी निःशुल्क चिकित्सालयको शनिवार बिहान निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले २०१३ सालमा स्थापना भएको चिकित्सालयको नयाँ भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमनसमेत गरे ।
मेयर साहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रियासमेत गरेका थिए । सोपश्चात उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गरेका थिए ।
उनले छत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरीब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन् ।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहीन अवस्थामा फर्कनु नपरेको बताए । उनले हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘यहाँ देशैभरिका जोसुकै नेपाली नागरिक मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन्,’ उनले भने ।
मेयर साहले समुदायबाट चलेको अस्पताललाई महानगरले गर्ने सहयोग वा सहकार्यका विषयमा छलफल भइरहेको बताए । उनले शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य र सरसफाइमा महानगरले उच्च चासो दिएको बताउँदै उनले यसका लागि नयाँ योजना तथा सल्लाह सुझावहरू लिएर आउनेसँग सहकार्य गरिने बताए ।
अनुगमनमा काठमाडौं–१७ का वडाध्यक्ष नवीन मानन्धरसमेत सहभागी थिए ।

