३० जेठ २०८३, शनिबार

ककनीमा २२० केभी प्रसारण लाइनमा चढेका व्यक्ति ओर्लिन नमान्दा ६० मेगावाटको आयोजना नै बन्द

ककनीमा २२० केभी प्रसारण लाइनमा चढेका व्यक्ति ओर्लिन नमान्दा ६० मेगावाटको आयोजना नै बन्द
तस्वीरः हरिकुमार गुरुवाचार्यको फेसबुकबाट ।

नुवाकोटको ककनी गाउँपालिकामा एक व्यक्ति विद्युतको पोल हुँदै विद्युत प्रसारण लाइनमा चढेपछि ६० मेगावाटको त्रिशुली थ्री–ए आयोजना नै बन्द भएको छ । 

शनिवार बिहान करीब १० बजेतिर नुवाकोटकै बोलकोटगढी नगरपालिका वडा नम्बर–१३ का स्थानीय माइला विक ककनीको चतुराले भन्ने ठाउँबाट विद्युतको पोलमा चढेका थिए ।

विद्युतको पोलबाट हाइटेन्सन प्रसारण लाइनमा गएर उनले प्रसारण लाइनको तार हल्लाउने र हिँड्ने काम गरिरहेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले लोकान्तरसँग बताए । 

‘बिहानैदेखि एक व्यक्ति विद्युतको पोल हुँदै तारमा चढेपछि विद्युत आयोजना नै बन्द गर्न लगाइएको छ । प्रहरीले उनलाई ओराल्ने प्रयास गरिरहेको भए पनि अहिलेसम्म ओराल्न सकिएको छैन,’ तामाङले भने । 

ती व्यक्तिको मानसिक स्वास्थ असन्तुलित रहेको खुलेको तामाङले बताए । ‘प्रहरीले उनलाई फकाएर ओराल्ने प्रयास गरिरहेका छन् । तर, उनी मानिरहेका छैनन् । उनलाई ओराल्न पोलमै चढ्दा हामफाल्न सक्ने र ज्यान नै जोखिममा पर्न सक्ने भएकाले प्रहरी पोलमा चढेका छैनन्,’ तामाङले भने ।

विद्युतको तार हल्लाइरहेका उनलाई स्थानीय बासिन्दा र प्रहरीले बियर खुवाउने, पैसा दिने भनेर फकाउने प्रयास गरिरहेको भए पनि उनी प्रसारण लाइनको तारबाट ओर्लिन नमानेको तामाङले बताए ।

ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको छ । उक्त प्रसारण लाइनमा डबल सर्किट छ ।

प्रसारण लाइनमा चढेका व्यक्तिलाई करेन्ट लाग्न सक्ने डरले त्रिशुली थ्री–ए आयोजना नै बन्द गरेर बस्नुपर्दा काठमाडौंमा विद्युत आपूर्तिमा समस्या हुन थालेको विद्युत प्राधिकरणले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्