
एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको झुम्काबाट ठूलो संख्यामा क्यूआर कोड वितरण गर्न थालेको छ ।
बैंकले उक्त ठाउँका १५० वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा शुरूवाती चरणमा वितरण गरेको हो ।
२०७९/०२/२७ गते शुक्रबार एक कार्यक्रमका बीच बैंकका प्रदेश १ का प्रमुख विकास खरेलले यस क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्र भित्र रहेका नेपाल इ–रिक्सा चालक संघ रामधुनी सुनसरी अन्तर्गतका १५० जना सदस्यहरुलाई उक्त क्यूआर भुक्तानी सेवा वितरण गरेका हुन् ।
यसरी क्यूआर कोड सेवा लिन बैंककोे सर्वश्रेष्ठ सहज बचत खाता खोल्नुभएका निज ग्राहक महानुभावहरुलाई बैंकले शुन्य मौज्दातमै १ वर्षको निमित्त रु. १० लाख रकम बराबरको दुर्घटना बीमा समेत उपलब्ध गराएको छ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको यस बैंकले भुक्तानी प्रवर्द्धनका लागि यो अभियान शुरू गरेको हो ।
‘क्यूआर सेवाबाट कारोबार गर्दा समग्र नगर क्षेत्रमा डिजिटल कारोबारलाई बढाउन टेवा मिल्नेमा हामी विश्वस्त छौं,’ बैंकका प्रदेश १ प्रमुख विकास खरेलले भने, ‘साथै बैंकले दिन लागेको निःशुल्क १० लाख रुपैयाँको दुर्घटना बीमाले यातायात सेवा प्रदायकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यलाई मलम लगाउन समेत ठूलो सहयोग मिल्नेछ ।’
क्यूआर वितरण कार्यक्रमा बोल्दै रामधुनी इ–रिक्सा चालक संघ रामधुनी सुनसरीकी अध्यक्ष सर्मिला पराजुलीले यसरी क्यूआर कोडबाट डिजिटल भुक्तानी लिई बैंकमा बचत गर्दा आम्दानीको उचित सदुपयोग हुने बताइन् ।
बैंकले थालेको क्यूआर कोड वितरण अभियानले झुम्का क्षेत्रमा रहेका यातायात प्रणालीहरुमा डिजिटल कारोबार गर्दा नगद कारोबारमा जस्तो खुद्रा नोटको जोहो गर्न समेत नपर्ने हुँदा यसबाट सवारी साधन प्रयोगकर्ता एवं सेवा प्रदायकलाई खुद्र रकमको जोहो गर्नुपर्ने झन्झबाट समेत मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।
बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउँदै देशका हरेक क्षेत्रमा बढी भन्दा बढी क्षेत्रहरुमा क्यूआर भुक्तानी सेवा वितरण गर्ने अभिलाशा लिइरहेकोमा प्रदेश १ का विराटनगर, इटहरी, धरान, दमक, विर्तामोड लगायतका क्षेत्रमा २५०० वटा भन्दा क्षेत्रमा बढी क्यूआर कोड वितरण गर्ने तयारी गरिरहेको छ ।
मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित सेवा दिइरहेको बैंकले जनाएको छ ।
यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।