०८ साउन २०८३, शुक्रबार

हावाहुरीले केरा खेतीमा क्षति, किसान भन्छन्- बारीमा गयो कि रुन मन लाग्छ

जेठ २९, २०७९
हावाहुरीले केरा खेतीमा क्षति, किसान भन्छन्-  बारीमा गयो कि रुन मन लाग्छ

कैलालीको टीकापुर नगरपालिका–२ का शंकर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शंकरको अधिकांश केरा शनिवारको हावाहुरीले नष्ट गरेको छ । 

उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछी शंकर निकै चिन्तित छन् । जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमासमेत जान सकेका छैनन् । 

बैंकबाट ऋृण निकालेर व्यवसाय गरेका शंकरले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना गरेको बताए । 'एक हजार २०० भन्दा बढी केराका बोट कामै नलाग्ने गरी ढलेका छन्, त्यसमा पनि अधिकांश केरा घारी दिइसकेका थिए,' शंकरले भने, 'बारीमा गयो भने रुन मन लाग्छ, यसपालि त उत्पादन राम्रो होला भन्ने आशा थियो तर, त्यो आशा एकै दिनको हावाहुरीले उडाएर लग्यो ।'

उनले कहिले दैवीप्रकोप त कहिले बजारीकरणका कारण मार खेप्दै आएको बताउँदै यस्तै घटनाले काम गर्ने उत्साह मर्ने गरेको बताए ।   

यस्तै टीकापुरकै दिनेश सुनारले यस वर्षबाटै केरा खेती शुरू गरेका थिए । तीन बिघा क्षेत्रमा केरा खेती गर्नुभएका दिनेशले पहिलो बालीसमेत भित्र्याउन नसक्ने भएका छन् । पहिलो उत्पादन दिइरहेको केरा हावाहुरीसँगै ढलेपछि दिनेशलाई पनि निकै पीडाबोध भएको छ ।

दिनेशले केराको बीमा गरेका छन् । बीमाका लागि कागजात बनाउनै समस्या हुने भएपछि त्यसको औचित्य नभएको बताउँदै दिनेशले बीमाले उपलब्ध गराउने क्षतिको रकमभन्दा बढी कागजात बनाउनमै जाने भएकोले त्यसमा लाग्नु झन्झट भएको बताए । उनले किसानले बीमा बैंकको ऋणको लागि मात्रै गर्ने गरेको बताए । 

टीकापुर क्षेत्रमा मात्रै हावाहुरीका कारण करीब एक सय बिघा क्षेत्रमा लगाएको केरा पूर्णरुपमा नष्ट भएको अनुमान गरिएको छ । अहिले टीकापुरमा व्यावसायिक रुपमा केरा खेती गर्दै आएका तीन सयभन्दा बढी किसान छन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले वार्षिक करोडौं रकम केरा व्यवसायीका लागि अनुदानमा खर्च गर्दै आएको छ । टीकापुरलाई केराको पकेट क्षेत्रको रुपमा हेर्ने गरिन्छ ।

 

उक्त सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख गोविन्दराज जोशीले हावाहुरीका कारण केरा खेतीमा भएको क्षतिको अनुगमन भइरहेको बताए । उनले अनुगमनपछि मात्रै केराको क्षतिबारे एकीन गर्न सकिने बताउँदै अनुगमनमा देखिएको अवस्थालाई प्रतिवेदनको रुमपा मातहतको मन्त्रालयमा पठाइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्