०२ साउन २०८३, शनिबार

त्रिभुवन विमानस्थलको सफाइ व्यवस्थापनको ठेक्का प्रस्ताव नखोल्न अन्तरिम आदेश

त्रिभुवन विमानस्थलको सफाइ व्यवस्थापनको ठेक्का प्रस्ताव नखोल्न अन्तरिम आदेश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ व्यवस्थापनको ठेक्कासम्बन्धी प्रस्ताव नखोल्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

विमानस्थलको सफाइ तथा फोहोर व्यवस्थापनको ठेक्काका लागि विमानस्थल कार्यालयले १३ वैशाखमा खोलेको प्रस्तावविरुद्ध अदालतले अन्तरिम आदेश दिएको हो । 

सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले २६ जेठमा आह्वान गरेको बोलपत्रको प्रस्ताव नखोल्न र यथास्थितिमा राख्न आदेश दिएको छ । 

अनमोल फ्यासिलिटी क्लिनर्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विपक्षी बनाएर दिएको मुद्दामा अदालतले १५ दिनभित्रै लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ । 

विमानस्थल कार्यालयले नेपाली निर्माण व्यवसायीलाई रोक्ने गरी विमानस्थल सफाइ तथा फोहोर व्यवस्थापनको प्रस्ताव आह्वान गरेको थियो । उक्त ठेक्काको प्रस्ताव माग्दा न्यूनतम १० वर्षको कार्यकुशलताको अनुभव हुनुपर्ने, विगत ३ वर्षदेखि न्यूनतम १२ करोड रूपैयाँको कारोबार गरेको हुनुपर्ने, विगत ५ वर्षमा कम्तीमा एक वर्ष अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइको काम गरेको र कम्तीमा १९ करोडको काम गरेको हुनुपर्नेसहितको शर्त राखेको थियो । उक्त शर्त नेपाली कम्पनीलाई नभएर विदेशी कम्पनीलाई दिन सेटिङ गरेको आरोप विमानस्थल कार्यालयलाई लागेको छ । विमानस्थल कार्यालयको उक्त प्रस्तावविरुद्ध नेपाली कम्पनीले नै मुद्दा हालेको थिए । 

सो ठेक्काको लागि प्रस्ताव पेश गर्ने अन्तिम मिति यही ३१ जेठसम्म छ । अदालतले दिएको आदेशमा सोही मितिभित्र अन्तरिम आदेश जारी गरिरहनु पर्ने वा नपर्ने विषयको टुंगो लगाउने भएको छ । 

यसका लागि अदालतले ३१ जेठमै विपक्षीलाई छलफलमा उपस्थित हुन पनि आदेश दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्