
काठमाडौं महानगरपालिका-२९, कालीकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार जना विद्यार्थी पक्राउ परेका छन् ।
मंगलवार दिउँसो साढे १ बजे कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी अधिकारीका अनुसार खुकुरी प्रहारबाट गार्डको बायाँ कानमुनि चोट लागेको छ । घाइतेलाई उद्धार गरी मोडेल अस्पतालमा लगेर उपचार गराइएको र उनी उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूबीच १० दिनअघि कलेज परिसरमा बास्केटबल खेल्दा विवाद भएको थियो । सोही विषयलाई लिएर कलेजमा दुई पक्षबीच झै-झगडा हुँदा सुरक्षा गार्ड छुट्याउन गएका थिए । सो क्रममा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा म्याग्दी घर भई काठमाडौंको तारकेश्वर बानियाँटार बस्ने जोसेन बानियाँ, रामेछाप घर भई काठमाडौं डिल्लीबजार बस्ने बिपिन खत्री, ओखलढुंगा घर भई हाल घट्टेकुलो बस्ने प्रतीक खतिवडा र टोखाका सञ्जीव भण्डारी रहेको प्रहरीले जनाएको छ । उनीहरू सबै १८ वर्षका हुन् ।