नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शेयर बजारको विषयमा नेपाल राष्ट्र बैंकले लिएको अदूरदर्शी नीतिका कारण ४० औं लाख लगानीकर्ता प्रताडित भएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभाको संसद बैठकमा बोल्दै सांसद थापाले राष्ट्र बैंकले लिएको नीतिले शेयर बजारमा संकुचन आएको बताएका हुन् ।
‘बजारमा रहेको तरलता अभावले शेयर बजारमा समस्या ल्याउनु स्वभाविक हो,’ उनले भने, ‘तर पछिल्लो समय शेयर बजारमा संकुचन आउनु राष्ट्र बैंकले लिएको अदूरदर्शी नीतिका कारण हो ।’
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् शेयर धितोमा कर्जा लिन कडाइ गरेको थियो । उक्त नीतिमार्फत न्यूनतम ४ करोड र अधिकतम १२ करोड रूपैयाँमात्रै शेयर कर्जा लिन पाउने केन्द्रीय बैंकको व्यवस्थापछि शेयर बजार निरन्तर घटिरहेको छ ।
थापाले भने, ‘शेयर बजार सामान्य रूपमा तलमाथि हुन्छ । लगानी गर्नेले यो कुरा बुझ्नु पनि पर्छ । तर, अहिले राष्ट्र बैंकले लिएकै अस्थिर नीतिका कारणले बजार अस्वभाविक रूपमा घटिरहेको छ ।’
शेयर बजारमा आएको ह्रासले सबै लगानीलाई निरुत्साहित गरेको छ । २८ भदौ २०७८ मा ३१९८ सहितको उच्चतम बिन्दुमा पुगेको शेयर बजार परिसूचक मंगलवार १९९९ को बिन्दुमा झरेको छ । नेप्से परिसूचक घट्दै जाँदा शेयर बजारमा नकारात्मक प्रभाव बढिरहेको छ ।
शेयर बजारमाथि स्थायित्व कायम गर्न र विश्वास जगाउन अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डजस्ता नियमकारी निकायले प्रमुख भूमिका खेल्नुपर्ने भनाइ पनि थापाको छ । नियमनकारी निकायहरूले बजारमा सकारात्मक सन्देश दिन र उनीहरूको भूमिकाको बारेमा समेत सदनलाई जानकारी दिनुपर्ने थापाले बताए ।
‘धितोपत्र बजारमा नीति दिगो र समग्र अर्थतन्त्रको विकास गर्ने खालको हुनुपर्छ । साना लगानीकर्ता आम मानिस हुन् । उनीहरूको लगानी जोखिमको बारेमा सचेतना नगरिएको र यस्तो अवस्थाको संकेत नगरिदिएका कारण शेयर बजार अहिलेको अवस्था पुगेको हो,’ उनले भने ।
शेयर बजारलाई ठीक ठाउँमा ल्याउनै पर्ने भए पनि एकैपटक गर्लाम्मगुर्लुम बजार घट्दा अर्थतन्त्रले थेग्न नसक्ने अवस्थामा पुगेको थापाको बुझाइ छ । शेयर बजार घट्दै जाँदा भोलिका दिनमा यो समस्याले थप पिरोल्न सक्ने भएकोले यसको समस्या समाधान गर्न आवश्यक रहेको पनि उनले बताए ।
‘विश्वव्यापी रुपमा शेयर बजारलाई अर्थतन्त्रको परिसूचकको रूपमा लिइन्छ । शेयर बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्रै नभएर समग्र अर्थन्त्रको सम्मुन्नति हुन्छ,’ थापाले भने, ‘विगत लामो समयदेखि नेपालको शेयर बजार अस्थिर भएको छ । यो सँगै साना लगानीकर्ता त उठ्नै नसक्ने गरी डुबेका छन् ।’
अहिलेको शेयर बजारलाई सुधार्ने र लगानीकर्तालाई प्रोत्साहन गर्ने काम नियामक निकायको भएको पनि थापाले बताए ।
‘प्रत्येक दिन म कहाँ नै १० देखि १५ जना मान्छे आउँछन् । काठमाडौंका नभएर बाहिरका आममान्छेले पनि गुनासो लिएर आउँछन्,’ उनले भने, ‘सानासाना दुःख गरेर कमाउने मान्छे शेयर बजारमा लगेका छन् । यसमा लगानी फसेपछिको पीडाले कोही आत्महत्या गर्छु भन्ने अवस्थासम्म पुगेका छन् ।’